रुम्टाखोलामा पक्की पुल बन्यो

  • साउन ३, २०८२

बागलुङ- एक वर्ष पहिले सम्म बागलुङ कुश्मिसेरा हुँदै– बरेङ शान्तिपुर सडक अन्तरगत पर्ने रुम्टाखोलामा पुल नहुँदा वर्खाको समयमा यात्रुहरुले निकै सास्ती खेप्नुपरेको थियो । जैमिनी नगरपालिका—९ र १० को सिमानामा पर्ने रुम्टाखोलामा पुल नहुँदा राङखानी, बरेङ र गुल्मीको शान्तिपुर बाट बागलुङ सदरमुकाम सँगै पोखरा काठमाण्डौ जाने यातायाताका साधनलाई निकै कठिनाई हुने गर्दथ्यो । यस वर्ष पक्की पुल निर्माण भएसँगै यस क्षेत्रका नागरिकलाई सहज भएको छ ।  डेढ महिना पहिले देखी पुल संचालनमा आएको छ । बागलुङ र गुम्ली जिल्लालाई जोड्ने कुस्मीसेरा–बरेङ—शान्तिपुर सडकखण्ड अन्तर्गत रुम्टाखोला पुलमा सवारी साधान सञ्चालन हुन थालेपछि यस क्षेत्रका नागरिकलाई सहज भएको छ । पुल नहुँदा बैकल्किप सडकको प्रयोग गरेर कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो, त्यो अहिले टरेको छ ।
अगामी बैशाख १० गते सम्मको सम्झौता
पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भएपछि पुल सञ्चालनमा आएको छ । पुल निर्माणको अधिकांस काम सकिएको र अहिले उक्त पुलबाट सवारी साधन सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर गोविन्द प्रसाद चौधरीले बताए । 
‘पुल निर्माणको सम्झौता २०८१ साल वैशाख ११ गते भएर काम अगाडि बढेको हो,’ चौधरीले भने, ‘काम सम्पन्न गर्ने मिति आगामी बैशाख १० गते सम्म हो । पुलको काम भने धेरै जसो सकियो । अहिले पुलबाट सवारी सञ्चालन हुन थालिसकेका छन् । दायाँ बाँयाको फाउण्डेशनको काम भने अझै बाँकी छ । बर्खा लागिसकेको छ पानी बसेपछि यो काम पनि सम्पन्न हुन्छ ।’ 
 २०५६ सालमा कच्चि सडक निर्माणसँगै कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक नियमित यातायात सञ्चालनमा आए पनि रुम्टाखोलामा पुल नहुँदा जैमिनी नगरपालिका—९ पयैँु र १० राङ्खानीसंगै सिंगो बरेङ गाउँपालिकाका नागरिकले बर्खामा सास्ती खेप्नुपथ्र्यो ।
 पुल नहुँदा बर्खाको समयमा यातायात ठप्प हुँदा जैमिनी ९ र १० नम्बर वडाका नागरिक पालिका मुकामसंगै विच्छेद भएर बस्नुपर्ने बाध्यता थियो । सडक निर्माण भएको १७ वर्षपछि उक्त स्थानमा पुल बनेपछि दक्षिणी बागलुङसंगै गुल्मी शान्तिपुरसम्मका स्थानीयलाई सहजता भएको जैमिनी नगरपालिका–१० राङखानीका भिम श्रीषले बताए । 
साढे ८ करोडको लागत ५ करोडमा सम्झौता
गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाएर उक्त पुल निर्माण गरेको हो । कुल ८ करोड एक लाख ५९ हजार ६ सय ८ रुपैयाँ  लागत स्टीमेट रहेकोमा निर्माण कम्पनी सूर्योदय कन्स्ट्रक्सन पर्वतले ६ करोड ९ लाख ४६ हजार ३ सय ६७ रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो । 
इमानदारी पूर्वक काम गर्दा समय भन्दा अगाडि नै काम गर्न सकिने सूर्योदय कन्स्ट्रक्सन पर्वतका प्रतिनिधि राम क्षेत्री बताउँछन् । ‘आफुले जिम्मा लिएको काम बेलैमा गरौं भनेर हामीले आफ्नो कामलाई अगाडि बढायौं,’उनले भने,‘कामदारहरुको सही परिचालन गर्न सकियो भने बेलैमा काम हुन्छ ।’ ‘पुलको काम सबैजसो सकिएर ढलान सेटल भएपछि पुल सञ्चालनमा आएको,’उनी भन्छन्,‘मेसिनरी वाल र ग्याबिन जाली भर्ने काम छ । त्यो कामका लागि भने अर्को आर्थिक वर्षसम्म जाने भो । हामी सबै काम गरेर सम्झौता अगावै पुल हस्तान्तरण गर्ने पक्षमा छौं ।’ रुम्टाखोला पुलले जैमिनी नगरपालिकासंगै बरेङ गाउँपालिका र गुल्मीका हजारौ नागरिकलाई सहजता प्रदान गर्ने जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्मा बताउँछन् ।
पुल बनेपछि सजिलो भएको छ 
 ‘बागलुङ र गुल्मी दुई जिल्ला जोड्ने निकै महत्वपूर्ण सडकको रुपमा रहेको कुस्मीसेरा–बरेङ–शान्तिपुर सडक निर्माण भएर पनि रुम्टाखोलामा पुल नहुँदा बर्खाको समयमा हजारौं नागरिक प्रभावित हुने अवस्था थियो,’उनले भने,‘यो पुलले धेरै सजिलो भएको छ । वर्षौेंदेखिको नागरिकको सास्ती कम भएको छ ।’ पुल निर्माण भएपछि स्थानीय उत्पादनको बजारीकरणमा पनि सहज हुने उनको विश्वास छ । 
‘हामीहरुको निरन्तरको प्रयास, पूर्वाधार कार्यालयको निगरानी र निर्माणा कम्पनीको इमानदार कामले गर्दा यो पुल तोकिएको समय भन्दा पहिले नै सञ्चालनमा आउने अवस्था बनेको छ,’उनी भन्छन्,‘पुल नहुँदा बर्खामा यातायात नै बिच्छेद भएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ पुल निर्माणसंगसंगै उक्त सडकखण्ड कालोपत्रेका लागि प्रयास भैरहेको उनले बताए ।

 

प्रतिक्रिया