चिप्लेटी बसपार्कबाट पिकअप, जिप र ट्याक्सी संचालन हुने 

  • भदौ ४, २०८३

बागलुङ —  बागलुङ बजारको चिप्लेटी बसपार्कबाट साना सवारी साधन संचालन हुने भएका छन । बागलुङ नगरपालिका– ४ रहेको नवनिर्मित दावगरा बसपार्कबाट लामो तथा छोटो दुरीकावसहरु संचालनमा आएसँगै चिप्लेटी बसपार्क खाली रहेको थियो । बसपार्क वरीपरिका स्थानियले यस क्षेत्रबाट पनि सवारी साधन छुटाउनुपर्ने माग गरेका थिए । तर नगरपालिकाले बस तथा माइक्रोहरु नयाँ वसपार्कबाट छुटाउन सुरु गरेको थियो भने जिप तथा अन्य साना सवारी पुरानै ठाउँबाट छुट्दै आएका थिए । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको संयोजकत्वमा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, सुरक्षा निकाय र अन्य सरोकारवालाहरुसँगको छलफल पश्चात बा.न.पा. ३ मा रहेको चिप्लेटी बसपार्कबाट पिकअप जिप, ट्याक्सी र अन्य साना सवारी साधन संचालन गर्ने सहमती जुटेको छ । बजार क्षेत्रका सवै वडाका वडा अध्यक्ष सहितको बैठकले चिप्लेटी बसपार्कलाई जिप पार्क र अन्य सवारी साधन पार्किङको रुपमा संचालन गरिने सहमती जुटाएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 
उपल्लाचौरमा नयाँ वसपार्क निर्माणसँगै त्यहाँबाट बस तथा माइक्रो र इभी माईक्रोहरु संचालनमा आएपछि चिप्लेटी क्षेत्र खाली अवस्थामा रहेको थियो । स्थानियको मागलाई सम्बोधन गर्दै यहाँबाट जिप, ट्याक्सी र गाउँबाट आउने पिकअप जिप संचालनमा ल्याइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । यहाँबाट साना यातायातका साधनहरु संचालनमा आएसँगै बजार क्षेत्रमा ट्राफिक समस्या पनि कम हुने विश्वास लिईएको छ । 
हाल बा.नपा २ जिपपार्कबाट जिपहरु छुट्नुका साथै पार्किङ हुँदै आएका छन भने, ट्राफिक चोकमा ट्याक्सीहरु पार्किङ हुँदै आएका छन ।  साना सवारी साधनका लागि यथाशिघ्र छिटो आवश्यक पुर्वाधारको व्यवस्थापन गरी चिप्लेटी बसपार्कबाट नै छुट्ने र यही पार्किङ गर्ने गरी तयारी थालिएको हो । गाउँबाट आउने पिकअप जिपले यात्रुलाई जथाभावी ओराल्ने र चढाउने गर्दा बजार क्षेत्रमा ट्राफिक समस्या बढ्दै गएको थियो । 
सर्वपक्षिय बैठकबाट गरेको सहमतीलाई थप व्यवस्थापन गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धौलागिरी कालिका यातायात प्रा.लीका अध्यक्ष दिनेश बोहोराले बताउँछन । उनले बजार क्षेत्रको व्यापार व्यवसायीलाई असर नगर्ने र यात्रुलाई सहज हुने गरी निश्चित समय निर्धारण गरेर जिप तथा पिकअप र ट्याक्सीलाई बजार क्षेत्रमा यात्रु ओराल्न र राख्नका निम्ती व्यवस्थापन गर्नुपर्ने बताए । बोहोराले प्रशासन र नगरपालिकाले गरेको निर्णयलाई व्यवसायीहरुले सधै साथ दिएको र व्यवसायीलाई पनि सरोकारवाला निकायले साथ दिनुपर्ने बताए । 
विगत २४ वर्षदेखि  सञ्चालित ‘चिप्लेटी बसपार्क’ लाई गत भदौ देखी खाली गरिएको थियो । चिप्लेटी बसपार्कलाई दाबगरामा बनेको बागलुङ बसपार्कमा स्थानान्तरण गरिएपछि यस क्षेत्र सुनसान बनेको थियो । यस क्षेत्रका वडा अध्यक्ष स्थानिय र व्यवसायी सहितले यस क्षेत्रमा बसपार्क वा जिपपार्क संचालन गरेर व्यवसायलाई चलयमान गराउनुपर्ने माग राख्दै आएका थिए । 

प्रतिक्रिया