उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा नरेश कँडेल

  • चैत १८, २०८२

बागलुङ — निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चौथो अधिवेशनबाट गण्डकी प्रदेश अध्यक्षमा बागलुङका नरेश कँडेल निर्विरोध निर्वाचित भएका छन् ।  दुई जना प्रतिस्पर्धी भएपछि चैत २० गतेका लागि निर्वाचत तोकिए पनि अध्यक्षका प्रत्यासी नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएसँगै कँडेल निर्विरोध भएका हुन् । 

कँडेल बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल पत्रकार महासंघ, बागलुङका पूर्वअध्यक्षसमेत हुन् । अन्य पदमा निर्विरोध भए पनि अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको थियो । महासंघले चैत मसान्तभित्र सबै प्रदेश अधिवेशन गरिसक्ने निर्णय गरेको छ । 

समितिको जिल्ला नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसिएट उपायक्षमा सूर्यबहादुर भुजेल, बस्तुगत उपाध्यक्षमा हरिकुमार श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र ओझा निर्विरोध भएका छन् । नौ सदस्य पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । तीन सदस्य भने अध्यक्षले मनोनीत गर्न पाउने व्यवस्था छ । 

निर्वाचित भएका कँडेलले आर्थिक मन्दीका बीच व्यवसाय प्रवर्द्धनमा भूमिका खेल्ने, गण्डकी प्रदेशमा पर्यटन प्रवर्द्धनमा अगुवाइ गर्ने बताए । उनले वित्तीय अनुशासन कायम गर्दै राज्यले लिने आर्थिक र मौद्रिक नीतिलाई सहयोग गर्ने बताए । ‘हामीले राज्यको नीतिलाई सहयोग गर्दै व्यवसाय प्रवर्द्धन गर्ने हो,’ कँडेलले भने, ‘बस्तुगत र एसोसिएट संस्थाहरूको क्षमता विकास गरी राज्यलाई कर तिर्न सक्ने बनाउने योजना पनि छ ।’ कर तिर्न व्यवसायीहरूले व्यवसाय पनि बढाउन जरुरी रहेको र त्यसका लागि वातावरण राज्यले बनाउनुपर्ने उनले बताए । 

त्यसबाहेक महासंघको आफ्नै सचिवालय बनाउने, जिल्ला र नगर संघलाई आर्थिक विकासका लागि सहजीकरण गर्ने र उनीहरूको पनि क्षमता बढाउने काममा साथ दिने कँडेलको प्रतिबद्धता छ । महासंघमा आबद्ध भएका होटल लगायतका बस्तुगत संघको क्षमता बढाएमा प्रदेशभित्रकै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने र त्यसबाटै आर्थिक विकासको बाटो तय गर्न सकिने पनि उनले बताए । महासंघको गण्डकी प्रदेशमा २३ जिल्ला नगर शाखा, ५५ एसोसिएट र ६ बस्तुगत सदस्य छन् ।

प्रतिक्रिया