• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • बागलुङ ,
  • स्वास्थ्य

बागलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

  • जेठ ८, २०८२

बागलुङ-  बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । मंगलबार बागलुङ नगरपालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको तीन वर्ष पुगेको अबसर पारेर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।

‘स्थानीय स्रोतको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेको जनाएको छ ।
गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरे । महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुको अथक मेहनतले बालबालिकामा पूर्ण खोप पुर्याउन सम्भव भएको उनले बताए । थापाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा नगरले गरेको लगानीले प्रतिफल दिने धारणा राखे ।

उनले स्वयंसेविका र स्वास्थ्यकर्मीका पेशागत व्यथा रहेको भन्दै प्रदेश सरकारले उनीहरुको व्यथा बुझेर सम्बोधन गर्ने बताए । ‘महामारिले हिजो रोग लागेर मर्दा एकाघरकै परिवारले मात्रै घिसारेर फाल्न पर्ने अबस्था थियो,’थापाले भने,‘महामारि नियन्त्रणमा खोपले जीवन जोगाउने काम गरेको छ ।’ थापाले स्थानीय तहले आन्तरीक श्रोत बढाउनेमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र संसाद थापाले बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख श्रेष्ठले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई बञ्चित गराउन नहुने बताए ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।

नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । वडास्तरीय खोप समन्वय समितिले बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

नगरका ०–१५ महिना उमेर समूहका ६ सय ६३ जना नियमित खोप लगाईरहेका र १६ देखि २४ महिना उमेर समुहका ४ सय ४९ जनालाई खोप दिएपछि नगर पूर्ण खोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । कार्यक्रममा नगरका १४ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख, खोप स्रोत व्यक्ति र हरेक वडाबाट एकजना स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया