काठमाडाैं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गरेकाहरुको नामलाई अनलाइन सूचीकृत सम्बन्धित जिल्लाबाट गर्ने व्यवस्था गरिएको छ । मंगलबार बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले सबै जिल्लाहरुलाई छुट्टाछुट्टै पासवर्डमार्फत सूचीकृत गर्ने निर्णय गरेको हो ।
कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणका लागि १५ वैशाखसम्मको म्याद दिएको थियो । समिति सदस्य प्रकाश स्नेही रसाइलीले नवीकरण फर्म बोकेर केन्द्रीय कार्यालय आउन नपर्ने बताए ।
उनले भने,‘सबै जिल्लाबाट नवीकरण भएकाहरुको सूची दर्ता गर्ने अनलाइनलाइन व्यवस्था हुन्छ । फर्म बोकेर केन्द्रीय कार्यालय आउनु पर्दैन।’ वैशाख मसान्तभित्र सबै स्थानबाट नवीकरण गर्नेहरुको सूचीकृत गरिसक्नुपर्ने निर्णय गरेको स्नेहीले जानकारी गराए ।
कांग्रेस विधान अनुसार हरेक वर्ष क्रियाशील सदस्यताको नवीकरण गर्नुपर्दछ । महाधिवेशन गर्ने वर्ष भने नवीकरण र नयाँ वितरण गर्न विधान अनुसार मिल्दैन । स्नेहीका अनुसार सबै जिल्लामा नवीकरणको कार्य भएको र यो महिनाभित्र अनलाइन सूचीकृतको काम सकिने छ ।