बागलुङ- आज बडादशैंको पहिलो दिन घटस्थापना । नवरात्रको सुरुवातसँगै प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा सोमबार विहानै देखी भक्तजनको भिड लागेको छ । गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको कालिका मन्दिर परिसरमा विहानै देखी श्रद्धालु भक्तजनको पूजाआजाका लागि भिड रहेको थियो ।
कालीकामा पूजाअर्चना गर्नाले मनोकाक्षा पूरा हुने विश्वासका साथ घटस्थापनाको दिन देखी नै देशभरका हिन्दु धर्मावलम्बीहरु मन्दिरमा आउने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउँछन । मन्दिर दर्शनका लागि अधिकाशं भक्तजनहरु जिल्ला बाहिरका रहेको छ । आईतबार सोह्र श्राद्धको अवसरमा मुस्ताङको कागवेनीमा श्राद्ध गर्न र मुक्तिनाथ दर्शन गर्न पुगेका दर्शनार्थी फर्किर सोमबार कालिका दर्शनार्थीका लागि आएको खड्का बताउँछन ।
भक्तजनको भिड बढ्न थालेपछि थप व्यवस्थित गर्न प्रहरीसहित स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी खटिएका छन् ।
पछिल्लो समय मन्दिरमा भारतीय भक्तजनको संख्या पनि वृद्धि हुँदै गएको अध्यक्ष खड्काले बताए ।
पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास छ ।
कालीका भगवती मन्दिरमा वडा दशैँको नवदुर्गा र चैत्रेदशैको नवदुर्गामा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिना बाहेक वर्षभरि नै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।