बागलुङ-नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तरगत शनिबार र आईतबार बागलुङ जिल्लाका अधिकाशं वडामा वडा अधिवेशन सम्पन्न भयो । संस्थापन र इतर पक्षको विवादका कारण अधिवेशन सोमबार पनि संचालनमा रहेको छ । आगामी असोज १६ देखी १९ गते सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी काँग्रेस संस्थापन पक्षले कार्यतालिका सार्वजनिक गरेसँगै केन्द्रीय कार्यक्रम अनुसार नै शनिबार देखी वडा तहको अधिवेशन सुरु भएको हो । जिल्लाका ८५ वडा मध्ये हाल सम्म ८२ वटामा वडा अधिवेशन सम्पन्न भएको र ३ वटा मात्र बाँकी रहेको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
सम्पुर्ण वडामा उत्साजनक सहभागीतका साथ वडा अधिवेशन सम्पन्न हुँदै गर्दा केही वडामा भने अन्यौल रहेको छ । बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडा, निसीखोला गाउँपालिकाको वडा नं. ६ र ७ मा अधिवेशन सुरु नभएको सचिव शर्माले जानकारी दिए । “सोमबार पनि अधिवेशन हुँदै छ । ‘गलकोट नगरपालिका ७ र ८ मा सुरु भएको छ, ढोरपाटन नगरपालिकाका बाँकी वडामा पनि सम्पन्न भयो उनले भने,–‘बागलुङ नगरपालिका वडा नं. ११ मा र निसीखोलाका २ वडा बाहेक सोमबार सवै वडामा सकिने छ । ” शर्माले निसीखोला गाउँपालिकाको ७ नं. वडामा सोमबार नै सुरु हुने वा मंगलबार सम्पन्न गर्ने गरी प्रक्रिया अगाडी बढेको बताए ।
बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडामा सदस्यता विवादका कारण हुन सकेको छैन । यो वडा काँग्रेस बागलुङका पूर्व सभापती एवं गण्डकी प्रदेश सभा सदस्य दिपेन्द्र बहादुर थापा, महाधिवेशन प्रतिनिधि विष्णु पौडेल दारीको वडा हो तर पूर्व सभापती थापा र पौडेल भने संस्थापन इतर पक्ष भएकै कारण यो झमेला आएको काँग्रेसका जिल्ला स्तरीय नेताले बताउँछन । थापा शेरबहादुर देउवा पक्षका नेता हुन ।
उता निसीखोला गाउँपालिका ६ पनि गाउँपालिका अध्यक्ष एवं काँग्रेस निसीखोलाका गाउँपालिका सभापती सुर्यबहादुर घर्ति मगरको वडा हो । उनि पनि काँग्रेस बागलुङका सभापती जितबहादुर शेरचन पक्षधर रहेका छन । शेरचन काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाका खास मान्छे हुन उनि पनि यो अधिवेशनमा भाग नलिएपछि घर्तिले पनि आफ्नो वडामा अधिवेशन गर्न नचाएको बुझिएको छ ।
के हो बानपा ११ को सदस्यता विवाद
बागलुङ नगरपालिका वडा नंं ११ रायडाँडामा भने सदस्यता विवादका कारण रोकिएको वडा सभापती थम बहादुर थापा बताउँछन । थापाका अनुसार गत पुस अगाडी नै ३७२ सदस्य नविकरण गरिएको थियो ३८२ सदस्य नयाँ थप गरेर पठाएकोमा पहिलो चरणमा ३९५ जना मात्र आएपछि पुन केन्द्रीय समितिमा जानकारी गराईएको थियो । “गत पुसमा हाम्रो नविकरण गरेको सदस्य संख्या ३७२ जना हो पुन ३८२ जना नयाँ पठाएका थियौ । सभापती थापाले भने,–‘ पुरानो नविकरणमा केही सदस्यता थप गरी ३९५ जनाको मात्र सदस्यता आयो, पुन केन्द्रीय समितिमा यसको बारेमा जानकारी गरायौँ त्यपछि असोज ३ गते पुन ३७५ जना थप भएर आएको थियो । अधिवेशन गर्ने तयारी पनि गरेका थियौँ पछि थप भएको संख्या हैन भन्ने खबर आयो अनि रोकिएको छ । उनले वडाबाट सिफारिस भएको सम्पुर्ण सदस्यहरुको सदस्यता आएपश्चात मात्र अधिवेशन गर्न सकिने बताएका छन । थापाले विशेष महाधिवेशन पश्चात अध्यावधिक भने यस वडाबाट जम्मा ६० जनाले गरेको बताए । तर अध्यावधिक नभएका सदस्यले पनि भाग लिन पाउने भएपश्चात नविकरण र नयाँ सदस्यताको सवै विवरण आउनुपर्ने उनले दाबी गरे । उनले केन्द्रबाट यसका समस्याको समाधान भएर आएमा आफुले वडा अधिवेशन गर्न तयार रहेको बताए । सदस्यता विवादकै कारण रायडाँडाको अधिवेशन भने अन्यौलमा रहेको छ ।
काँग्रेस संस्थापन पक्षले यही असोज १६ देखी १९ गते सम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका बनाएर वडा अधिवेशनमा लागेको छ । इतर पक्षले भने १५ असोजदेखि वडा अधिवेशन सुरु गरेर २१, २२ र २३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
दुई वटा महाधिवशेनको कार्यकालिकाले नेता तथा कार्यकर्ता अन्योलमा पर्दा यसको पनि प्रभाव भएको नेताहरु बताउँछन । तर संस्थापन पक्षका नेता भने यो अधिवेशनमा यती धेरैको संख्यामा कही कतै पनि सदस्यता संख्या थप नभएको बताउँछन । पुरानो नविकरणमा केही नयाँ थप भएको र सोही अनुसार अधिवेशन सम्पन्न गर्नुपर्ने उनको भनाई रहेको छ ।
नेपाली कांग्रेस बागलुङका अनुसार यि वडा बाहेक अन्य वडामा उत्साहपुर्वक वडा अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला सभापतिको जिम्मेवारी नै खोसियो
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले बागलुङ जिल्ला सभापति जीतबहादुर शेरचनको जिम्मेवारी खोसेको छ । शेरचनले १५ औँ महाधिवेशनको प्रक्रिया अगाडि नबढाएपछि उपसभापति तारानाथ पौडेललाई कार्यवाहक सभापति तोकेको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार वडा अधिवेशनसहितका १५ औं महाधिवेशन गराउनका लागि पौडेललाई जिम्मेवारी दिएको हो । पौडेलले भदौ ३१ गतेदेखि जिम्मेवारी सम्हालेर वडा अधिवेशन प्रक्रिया सुरु गरेको हुन् ।
इतर पक्षको जिम्मेवारी छन्त्याललाई
१५ औँ अधिवेशनका लागि इतर पक्षले जिल्ला संयोजकको जिम्मेवारी सागर छन्त्याललाई सुम्पेको छ । छन्त्याल कांग्रेस बागलुङका उपसभापति हुन् । इतर पक्षका संयोजक शशांक कोराइलाले छन्त्याललाई उक्त जिम्मेवारी ठमाएका हुन । वडा तहको अधिवेशन सकिए सँगै आगामी बुधबार गाउँ नगरपालिकाको अधिवेशन र १० गते प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन हुने छ । जिल्ला र प्रदेशको अधिवेशन भने केन्द्रीय अधिवेशन पश्चात गरिने भएको छ ।