ओमनबाट फर्किएकी महिलाको कथा- ‘बन्दकमा परे बाँचेर फर्किए’

  • साउन १५, २०८२

नारायण रिजाल, बागलुङ ! “मलाई दैनिक झण्डै १८ घण्टा काम गराउँथे, न समयमा खाना दिन्थे न सुत्न नै पाईन्थ्यो । न त बिदा न त भनेजती तलब । बाहिर निस्कन खोज्दा मालिक मालिक्नीले धम्की दिन्थे, उनिहरुबाट दुव्र्यहार र अपमान बेहोर्नु पथ्र्यो ‘तैले यदी बाँच्नु छ भने हामीले भनेको काम गर, यहाँ तलाई कसैले चिन्दैन मारे पनि कसैले केही गर्दैन, यी शब्दहरु बारम्बार साहुबाट दोहोरिन्थे’। मलाई लाग्थ्यो, म कहिल्यै घर फर्किन सक्दिनँ, मेरा  छोराछोरी टुहुरा हुने भए, बाबु आमाका सपना यतै विलय हुने भयो” ओमनबाट उद्धार भएर हालै नेपाल फर्किएकी बागलुङको गलकोट माईती घर भै गुल्मीको आँपचौर कर्म घर भएकी छमकुमारी (नाम परिवर्तन) भक्कानिँदै आफ्ना पीडाहरू सुनाउँछिन् ।


विदेश जानुपर्ने रहर हैन बाध्यता थियो 
    टन्न पैसा कमाउने र परिवारलाई सुख सयलमा राख्ने सपना बोकेर छमकुमारी डेढ वर्ष पहिले ओमन पुगेकी थिईन । घरमा १४ वर्षको छोरा, ८ वर्षको छोरी बुढा भएका बाबु आमा छाडेर ओमन जानुपर्ने उनिलाई रहर हैन त्यो बाध्यता थियो । यो बाध्यता भने आफ्नै श्रीमानका कारण आएको छमकुमारी बताउँछिन “सात वर्ष पहिले श्रीमान कोरिया जानु भयो उहाँ गएपछि नानी बाबु लिएर म काठमाण्डौ आए, श्रीमान विदेश गएपछि एक वर्ष सम्म त राम्रै सहयोग गर्नुभएको थियो उनि भन्छिन्–‘पछि उहाँले कुनै सहयोग गर्नुभएन, छोराछोरीलाई पढाउन र विहान बेलुका छाकटार्न पनि गाह्रो भयो, अनि विदेशिने निर्णय गरेकी हुँ, कमाउने सपना लिएर ओमन गए बन्दकमा परे, भागेर नेपाल फर्किए ।”  श्रीमानले आफु र छोराछोरीलाई हेर्न छाडेको ६ वर्ष भएको उनि बताउँछिन ।


कुवेत जाने भनेको ओमन पठाइयो
    काठमाण्डौं जस्तो सहरमा ज्यालादारीमा परिवार धान्न गाह्रो भए पश्चात उनलाई खाडी मुलुक नै भए पनि जाने सोच पलायो । विदेश त जाने कहाँ जाने खाडी नै भए पनि कुन देश राम्रो हुन्छ त्यसको बारेमा धेरै खोजिन बुझिन, बुझ्दै जाँदा एक जना मेनपावर संचालकसँग भेट भयो, सुरुमा कुवेत पठाउँछु भन्दै उनिसँग ५० हजार रुपैयाँ मागेका थिए । छमकुमारीले धेरै कुरा बुझेको हुँदा सुरुमा ३० हजार रुपैयाँ मात्र दिईन, कम्पनीकै काम पाईने, तोकिएको तलब पनि पाईने भन्दै पासपोर्ट बुझाईन, दुई तिन पटक मेडिकलका लागि बोलाईयो मेडिकल गरेको झण्डै १६ हजार रुपैयाँ खर्च भयो । ३० हजारमा १४ हजार मात्र उनले फिर्ता पाईन, कुवेतको काम भएन भिषा आएन । पछि ओमन पठाउँछु भन्यो कामको प्रकृति पनि यस्तै हो भन्यो  छमकुमारी विश्वासमा पुगिन र हस भनिन । 


कोठामा बन्धक बनाएर मोलमोलाई  भयो 
ओमन जाने निधो भए पश्चात मेनपावर संचालकले २०८० फागुन ६ गते फोन गरे, भिषा लाग्यो भोली नै जानुप¥यो भने, छमकुमारी ओमन जान तयार भईन । फागनु ७ गते  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उनि ओमनका लागि उडिन । “छोराछोरी छाडेर जानुपर्ने बाध्यता र मनमा पिर भएपनि मनमा चंगा जस्तै भएको थियो, उनले भनिन् –‘किनकी धनकमाउने रमाउने र छोराछोरी परिवारलाई सुख सयलमा राख्ने मेरो सपना साकार हुने भयो भनेर,  सहजै हामी ओमन पुगियो त्यहाँ पुगेपछि हामीलाई एउटा कोठामा लगियो बन्दक बनाएर राखियो अनि हाम्रो मोलमोलाई सुर भयो । त्यसपछि बल्ल थहा भयो कि कुनै कम्पनीले हामीलाई सम्झौता गरी घरायसी कामदारको रुपमा यहाँ ल्याएको रैछ भनेर । तब  मेरो मनमा डर र त्रास मात्र आयो, मेरा सवै सपना चकनाचुर हुन्छन भन्ने लाग्यो ।” उनिसँगैै १६ जना महिला घरेलु कामदारकै रुपमा त्यहाँ गएका थिए । 


कम्पनीका काम भनेर घरेलु कामदारको रुपमा फसाईयो
कम्पनीको काम भनेर नेपालबाट गएका घरेलु कामदारको रुपमा परेपछि उनिहरुले मेनपावर संचालकलाई फोन गरे कराए भने तर कसैले सुनेन । सामान्य लेखपढ मात्र गर्न जान्ने छमकुमारीले आफुहरुले केही पढ्न नजानकै कारण मेनपावर संचालकले फसाईदिएको बताईन । 
ओमन पुगेको केही दिन पश्चात उनि एउटा घरमा काम गर्न गईन । त्यो घरमा उनलाई राम्रै व्यवहार भएको थियो । एक महिनामा नै उनलाई काम लगाएको कम्पनीले पुन अर्को घरमा पठायो । कम्पनीले जे भन्यो त्यो गर्नु बाहेक कुनै विकल्प थिएन,  त्यहाँ सहजै बसिन काम गरिन ।


साहु साहुनीबाट दुव्र्यवहार र कुटपिट सम्म गरे
फागुनमा गएकी उनि असोज सम्म दोस्रो घरमा बसेर काम गरिन, काम राम्रै थियो सहज थियो घरमा नियमित कुरा हुन्थ्यो दिन राम्रै गरी चलेको थियो । उनलाई खाडी मुलुकमा घरेलु कामदारलाई सुरक्षित छैन भन्ने सुने पनि आफु त्यो बेला सम्म राम्रैमा परेको हुँदा कामको बेला कुनै चिन्ता भएको थिएन । अपसोच उनलाई दोस्रो घरबाट पनि तेस्रो घरमा कामका लागि लगियो । “सुरुमा पहिलो र दोस्रो घरमा जस्तै होला भन्ने लागेको थियो तर त्यहाँ सोचे जस्तो रैनछ तेस्रो घर मुख्य सहर देखी टाढा पनि थियो । छमकुमारीले भनिन्–‘ जब तेस्रो घरमा म पुगे त्यस पछि मलाई त्यहाँ बस्न नै मन लागेन, काम गर्दै जाँदा त्यहाँका साहु साहुनीबाट दुव्र्यवहार हुन थाल्यो कुटपिट सम्म गरे,  म अब  घर फर्किदैन भन्ने लागेको थियो ।” घर मालिकले तैले हामीले भनेको काम नगरे तलाई यही मारेपनि कसैले केही गर्दैन भन्दै बारम्बार थर्काउने गरेको छमकुमारी सम्झिन्छीन । 
उनले काम गर्ने ठाउँ ओमनको मुख्य सहर र नेपाली देखी नै धेरै टाढा थियो । बाहिर निस्कौं निस्कने वातावरण थिएन, नजिकै कोही चिनेको थिएन, साहुसाहुनी गाली दैनिक बहोर्नुपथ्र्यो, उनी आफु बन्धकमा परेको बल्ल थाहा पाईन।


लुकी लुकी घरपरिवार सँग बोल्दा मोबाईल नै खोसिदिने 
छमकुमारी नेपालमा आफ्ना आमा बाबु र छोराछोरीसँग लुकी–लुकी फोनमा बोल्थिन घरमालिकले गाली गर्ने मोबाईल नै खोसिदिने गथ्र्यो, उनलाई कहिले आफ्नो घर फर्कियौं जस्तो भयो तर आधार थिएन । “घरेलु कामदारको रुपमा कम्पनीले सम्झौता गरेको रैछ, बाहिर निस्केर नेपाल फर्कौ भने पनि सजिलो रैनछ । म धेरै रोए कराए तर कतै आधार भेटिएन, न त्यहाँ नेपाली थिए न कुनै निकाय पुग्थो छमकुमारीले भनिन्–‘नेपाली दुतबासबाट त्यहाँ पुग्न पनि १२ घण्टा लाग्दो रहेछ,” उनले नेपाल हुँदा जिल्ला जिल्लामा बैदेशिक रोजगारका लागि सहायता कक्ष हुन्छ भन्ने सुनेकी थिईन । आफु अलपत्र र बन्धक माईती घरमा बाबालाई बागलुङमा छ की छैन भनेर बुझन् लगाईन ।’ उनले गलकोटमा रहेका आफ्ना बाबुलाई  नगरपालिकामा गएर कसरी आफु नेपाल फर्किन सकिन्छ त्यसको बारेमा बुझन लगाएको बताईन । ‘म अलपत्र परेर रोएको सहन नसकेर बाबा नगरपालिका जानुभएछ, नगरपालिकाको सामिमा नै काम गर्ने रजनालाई भेट्नुभएछ छमकुमारीले विलौना गर्दै थपिन् ‘उहाँले जिल्ला प्रशासनमा रहेको आप्रवासी श्रोत केन्द्रमा पठाउनु भयो, केन्द्रमा उजुरी आएपछि त्यहाँ काम गर्ने गंगा मेडमले मलाई ‘इमो’मा सम्पर्क गर्नुभयो । ’ आप्रवासी श्रोत केन्द्र बागलुङमा कार्यरत सूचना तथा परामर्श कर्ता गंगा शर्मा रिजालसँग सम्पर्कमा आए पछि बल्ल नेपाल फर्किने आशा पलाएको उनि बताईन । 


सामीकै सक्रियतामा नेपाल ल्याईयो
    छमकुमारी उद्धार गरेर नेपाल ल्याउनका लागि सामी सँगै गलकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय बागलुङ र ओमनमा रहेको नेपाली दुतावास मार्फत ठुलो सहयोग भएको केन्द्रका सूचना परामर्शकर्ता शर्माले बताईन । ‘छमकुमारी कुवेतमा अलपत्र परेको थाहा पााए पश्चात  उहाँलाई हामीले ‘इमो’ मार्फत जोड्यौं, उहाँसँग हामीले सम्पर्क गर्न र कुरा गर्न प्रयास गरियो, मालिक घरमा नै भएको बेला उहाँ बोल्न सक्नुभएन शर्माले भनिन्–‘नेपाली समय अनुसार रातको १२ बजे उहाँले रुदैै हामीलाई फोन गर्नुभयो हामीले धेरै सम्झायौं बुझायौं, जसरी हुन्छ मलाई नेपाल फर्काउनु भन्नुभयो, भोली पल्ट दुतावासमा खबर गरियो । सामी मार्फत  नेपाल ल्याउने आधार र प्रक्रिया सुरु भयो ।’ 
शर्माका अनुसार छमकुमारीलाई नेपाल ल्याउनका लागि दुतावासले धेरै ठुलो सघर्ष गर्नुपरेको थियो । मुख्य सहर देखी टाढा भएको र उनले आफ्नो लोकेशन शेयर गर्न नसक्दा उनि कुन ठाउँ मा कसरी बसेकी छन भन्ने कुरा पत्ता लगाउनकै लागि धेरै समय लागेको उनले बताईन । 
‘दैनिक जसो उहाँले फोनमा नेपाल जसरी नी फर्काउनु नत्र म यही मर्छु भन्दै रुँदै फोन गर्नुहुन्थो, न उहाँले आफ्नो लोकेसन शेयर गर्न नै सक्नुहुथ्यो, शर्माले,भनिन्–‘हामीले र दुतावासका प्रतिनिधिले उहाँलाई मोबाईलमा ‘ह्वाटसएव’ डाउनलोड गर्न सिकायौं, त्यही मार्फत आफ्नो लोकेशन पनि शेयर गर्न तब मात्र सफल भईयो की छमकुमारी कुन सहरमा हुनुहुँदो रहेछ कहाँ हुनुहुँदो रहेछ ।’ जब छमकुमारी काम गर्ने ठेगाना र घर पत्ता लाग्यो दुतावासले उनको उद्धारका लागि दुई जना नेपाली पठायो । त्यहाँबाट उद्धार गरियो । यस्ता उद्धार अभियान सहज छैनन् । मालिक र एजेन्टले महिलालाई घर छोड्न दिन चाहँदैनन् । धेरैपटक प्रहरी र अदालतको पनि सहयोग लिनुपर्छ ।”


खाली खुट्टा भागेर नेपाल फर्किन सफल
“म अलपत्र र बन्दकमा थिए, दुतावासले पठाएका दुई जना दाईले यसरी भागेर निस्कनु भन्नु भयो, म खाली खुट्टा नै भागेर निस्किए छमकुमारीले भनिन्–‘त्यो बेला साहु साहुनी बजार गएका थिए छोराहरु सुतेका थिए । म भागेर बाहिर निस्किए, दुई नेपाली दाजुभाई प्रकाश र सितलले मलाई लिएर १२ घण्टामा नेपाली दुतावास पु¥याउनुभयो ।”
आफु नेपाली दुतावासमा पुगेपछि बल्ल सुरक्षित भएको महशुस भएको छमकुमारी बताउँछिन । उनको आवश्यक सवै कागजात पुरा नभएर झण्डै १ महिना दुतावासमा नै बस्नुप¥यो । गत चैत्र ३० गते मात्र उनि नेपाल फर्किईन । आप्रावासी श्रोत केन्द्र सामी मार्फत आफु उद्धार नभएको भए हाल सम्म उतै जिन्दगी वर्वाद हुन सक्ने उनी बताउँछिन । 
अहिले छमकुमारी काठमाण्डौंमा आफ्ना छोरा छोरीसँगै छिन । गलकोटमा आए बाबु आमा पनि भेटिन् । उनि आफ्ना परिवारसँग रमाउन पाउँदा नयाँ जिन्दगी नै पाएको महशुस गरेकी छन । 
ओमन र अन्य खाडी मुलुकमा नेपाली महिलाहरूको अवस्था सुधार्न कानुनी प्रक्रिया कडाइका साथ लागू हुनुपर्ने र सुरक्षित रोजगारको अभियान अझै प्रभावकारी हुन जरुरी रहेको छ । बैदेशिक राजगारीमा गएर अलपत्र र बन्धकमा परेका थप दुई जना महिलालाई सामीले उद्धार गरेको केन्द्रका जिल्ला संयोजक मिन प्रसाद उपाध्यायले बताए । सामी वैदेशिक रोजगारीमा जानेका लागि सूचना परामर्श दिने र अलपत्र परेकालाई नेपाल ल्याउनका लागि सहजीकरणको काम गर्दछ । 
 

प्रतिक्रिया