बागलुङ - जिल्लाकै प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल बलेवा भैरवस्थान मन्दिर परिसरमा यस वर्ष हरेलो मेला संचालन भएन । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको मन्दिर परिसरमा विगत ३ वर्ष देखी हरेक वर्ष भदौको पहिलो मंगलबार हरेलो मेला संचालन हुने गर्दथ्यो । यस वर्ष भने मन्दिरमा सामान्य पुजाआजा मात्र हरेलो पर्वको विधिवत रुपमा पुजा गरियो भने मेला संचालन हुन सकेन ।
बागलुङ नगरपालिका– १०, भकुन्डे– ११, रायडाँडा– १२, अमलाचौर– १३, पैयुँपाटा– १४ नारायणस्थान र जैमिनी नगरपालिका– १ को कोटको रूपमा समेत रहेको मन्दिरपरिसरमा हरेक वर्ष भदौ महिनाको पहिलो मंगलबार मेला लाग्ने गर्दछ ।
बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्याङ्ग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको र यसलाई अझै प्रभावकारी बनाउनका निम्ती मन्दिर परिषरमा हरेक वर्ष हेरलो मेलाकै रुपमा संचालन गरिँदै आईएको थियो । तर यस वर्ष भने उक्त मेला संचालन हुन सकेन ।
मेला संचालन हुन नसक्नुको मुख्य कारण भैरवस्थान पुग्ने सडक समय–समयमा अवरुद्ध हुनुनै रहेको भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल बताउँछन । हरेलो मेलाले भैरवस्थानको प्रचारप्रसार हुनुका साथै यसको महिमा बढाउँदै गएता पनि यस वर्ष मेला संचालन गर्न नसक्दा अघिल्लो वर्ष जस्तो दर्शनार्थीको भिडभाड नभएको अध्यक्ष ढकालले बताए ।
‘भैरवस्थानको प्रचारप्रसार र यहाँको परम्परागत संस्कृति हरेलो पर्वलाई जर्गेना गर्नकै निम्ती विगत तिन वर्ष देखी हरेलो मेला संचालन गर्दै आएका थियौं, अध्यक्ष ढकालले भने,–‘बर्खाको समयमा निरन्तर वर्षा भएको छ, यहाँ आउने सडक दैनिकजसो अवरुद्ध हुन्छ, मेला आयोजना गरेर दर्शनार्थीलाई बढि दुःख दिनु भन्दा यस वर्ष नगरौं भन्ने समितिको सल्लाह बमोजिम नै मेलाको आयोजना गरिएन । नियमित पुजा र हरेलो पर्वको अवसरमा हुने पुजा भने ग¥यौं, दर्शनार्थीको उपस्थिती त राम्रै थियो मेला नभएका कारण आउने जाने भै रहयो ’ । उनले मंगलबार एकादशी तिथि परेका कारण बलि नचढ्ने हुँदा बलिचढाउने दर्शनार्थी नआएको बताए ।
यहाँ जाने सडक मालढुंगा पाग्जा बास्कोट हुँदै मन्दिर पुग्ने सडक बागलुङ नगरपालिका १० दब्लाङको पहिरोले विगत डेढ महिना देखी बन्द छ भने कालिगण्डकी करिडोर खण्ड पनि वडा नं. १३ को कालाखोलामा ठुलो पहिरोका कारण एकतर्फी रुपमा मात्र संचालन भएको छ । यो सडक पनि वर्षा भएसँगै बन्द हुने गर्दछ । जसका कारण यो समयमा भैरवस्थान पुग्ने सडक सहज नभएको अध्यक्ष ढकालले जानकारी दिए । उनले मेलाको आयोजना नगरिएपनि नियमित पूजा गरिएको र मन्दिरमा भजन कृतन सहित हरेलो पर्व मनाएको जानकारी दिए । अर्को वर्ष मेलालाई थप व्यवस्थापन सहित संचालन गरिने मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको
भैरवस्थानको दर्शन र मेला हेर्न भनि पुगेका दर्शनार्थी भने यस वर्ष मेला नहुँदा खल्लो महशुस गरेर फर्किएका छन । ‘विगतमा मेला भएको र यहाँ रमाईलो हेर्नकै निम्ती बागलुङ बजारबाट पर्वतको पुल तरेर भैरवस्थान पुग्यौं, तर यस वर्ष मेला रैनछ, मन्दिर दर्शनका निम्ती पर्वतको जलजलाबाट भैरवस्थान पुगेकी लक्ष्मी सुवेदी भनिन्,–‘चिप्लो बाटोमा कष्टकर यात्रा सहित मन्दिर पुगियो दर्शन गरियो भजनमा नाचियो फर्कियो, गत वर्ष मेला हुँदा कति रमाईलो थियो, यो वर्ष मेला रैनछ रमाईलो लागेन ।’ उनले मेलालाई हरेक वर्ष संचालन गर्न सकेमा प्रचारप्रसार हुने र यहाँ आउने धार्मिक पर्यटक बढ्दै जाने बताईन ।
भैरवस्थान मन्दिरको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने गरी यसको व्यापक प्रचारप्रसार गर्ने उद्देश्यले विगतका वर्षहरुमा मेला आयोजना गर्ने गरिन्थ्यो ।
मेलामा भकुन्डेको झाम्रे, रायडाँडाको भजन, अमलाचौरको गन्धर्व गीत, पैयुँपाटाको नौमती बाजा, नारायणस्थानको लाखे र कुश्मिसेराको सालैजो जस्ता लोकसंस्कृतिको प्रस्तुतीहरु रहन्थे भने यहाँको मौलिक तरबारनाच पनि मेलामा प्रस्तुत गर्ने गरिन्थो ।
मन्दिर जिल्लाकै मुख्य धार्मिक पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । सन् १७८० मा स्थापना भएको भैरवस्थान मन्दिर नेपाल सरकारको एक सय पर्यटकीय गन्तव्य भित्र पर्दछ ।
कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र लुम्बिनी प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँचीका साथै काठमाडौँ र चितवनबाट दर्शनार्थी निरन्तर रुपमा आउने गरेका छन् ।
कालभैरवको दर्शन तथा पूजाले घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वास गरिन्छ ।
हरेलो पर्वको अवसरमा भैरवस्थान दर्शन गर्न आएका दर्शनार्थी : तश्विर शिशिर जि.सी.