बागलुङ- आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङमा नमुना मतदान केन्द्रको अभ्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङको खेल मैदानमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास गरिएको हो ।
जिल्ला स्थित चारवटै सुरक्षा निकायको सहभागितामा सम्पन्न उक्त अभ्यासमा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन प्रहरीहरूको उपस्थिति रहेको रहेको थियो ।
निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी जिल्ला समितिको आयोजनामा भएको अभ्यासमा मतदानस्थलको निर्माण, नमुना मतदान प्रक्रिया, मतदान कार्यमा अवरोध उत्पन्न भएमा अपनाइने उपाय, सुरक्षा जोखिम व्यवस्थापन, अवरोध हटाई मतदान सुचारु गर्ने प्रक्रिया, कानुन बमोजिम सिलसिलेवार बल प्रयोगको अभ्यास, शंकास्पद वस्तु फेला परेमा त्यसको सुरक्षित डिस्पोजल तथा मतगणना केन्द्रसम्म मतपेटिका ढुवानीसम्बन्धी अभ्यास गरिएको थियो ।
अभ्यासका क्रममा निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी जिल्ला समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कानुनको पालना गर्दै निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन प्रहरीलाई निर्धक्क भई आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए ।
बागलुङमा निर्वाचन प्रहरी र नेपाल प्रहरी गरी दुई हजार नै सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । निर्वाचनमा नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकताका आधारमा खटिने तयारी भइरहेको छ । बागलुङमा कायम रहेको १०७ मतदानस्थल र २३० मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरू गरी दुई हजार ६० जना कर्मचारी खटाउने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।