बागलुङ– बागलुङको प्रवेशद्धारको रुपमा रहेको मालढुंगामा बृहत इस्कोन गण्डकी परियोजनाले जिल्लामै नयाँ धार्मिक पर्यटकिय गन्तव्यको विकास गरेको छ । बागलुङ नगरपालिका–१ को मालढुंगा खुदुर्केमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ‘इस्कोन गण्डकी’ परियोजना अन्तरगत कलात्मक राधाकृष्ण मन्दिर निर्माण गरिएको छ । उक्त मन्दिर दाताको सहयोगमा नै उभिएको हो ।
मन्दिरको श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रभु पत्रीदास र महाविष्णु महाराजको बाहुलीबाट गरिएको इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए ।
इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट संकलित रकमबाट २ करोड ५० लाखको लागतमा सभाहल सहितको राधाकृष्ण मन्दिर निर्माण भएको छ । दानमुठीकै भरमा सयौं वर्ष पुरानो यहाँको लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्धार गरिएको छ ।
यहाँको लक्ष्मीनारायण गुठीको १७ रोपनी जमिनमा इस्कोन गण्डकी परियोजना सञ्चालनमा छ । तीन वर्षअघि निर्माण भएको डीपीआर अनुसार यहाँ ४३ करोडका संरचना बन्ने अध्यक्ष अच्युतदासले जानकारी दिए । मन्दिर परिसरमा सभाहल, मन्दिर, साकाहारी भोजनालय, धर्मशाला र अतिथिगृह बनाइने भएको हो । त्यसबाहेक कालीगण्डकी किनारमा स्नानस्थल, आरतीको विशेष मञ्च र ध्यान स्थलसमेत बनाइनेछ ।
मन्दिर नजिकै रहेको कालीगण्डकी किनारमा स्नान र ध्यानस्थल बनाउन लागिएको छ, जसले विशेष गरी विदेशी धार्मिक पर्यटकलाई अझै आर्कषण गर्ने विश्वास लिईएको छ ।
यस परियोजनामा गण्डकी प्रदेश सरकारको सहयोगमा सिंचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालयमार्फत कालीगण्डकी नदी व्यवस्थापनका लागि संरक्षण पर्खाल निर्माण गरिएको छ। ‘पर्खालले परियोजनाको जमिन र संरचनाको सुरक्षा सहज बनाएको अध्यक्ष अच्युतदासले बताए।
मन्दिर निर्माणसँगै मुक्तिनाथ र बागलुङ कालिका आउने धार्मिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । बागलुङ कालिका र पञ्चकोट आउने पर्यटकलाई पहिलो स्वागतद्धारको रुपमा यस मन्दिर रहने श्रेष्ठले बताए । पछिल्लो समयमा बागलुङमा धार्मिक पर्यटकिय क्षेत्रको विकास सँगै पर्यटकको पनि आगमन बढ्दै गएको छ ।