बागलुङ - राष्ट्रिय गौरवको आयोजनाको रुमपा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले आलटाल गरेको भन्दै स्थानीय आक्रोश भएका छन । आईतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै लामो समयदेखि निर्माणाधीन लोकमार्ग पटक पटक म्याद थप्ने र ठेक्का तोडिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि कामले गति नलिएको भन्दै ठप्प पार्ने चेतावनी समेत दिएका छन ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा मध्यपहाडी लोकमार्गको बागलुङ घोडावाँधे सडकखण्ड विगत ३० वर्षयता अत्यन्तै जोखिमपूर्ण यात्राको मार्ग बन्दै आएको र पटक पटक निर्माण व्यवसायीको म्याद थप गर्ने अनि काम नहुने खालका गतिविधिले र निर्माण व्यवसायीलाई सम्झौता रद्द गरि अर्को ठेक्का लगाउँदा पनि निर्माण व्यवसायीले समयभित्र काम सम्पन्नगर्ने लक्षण नदेखिनुले बागलुङ घोडावाधे क्षेत्रका जनताहरुलाई सधैभरी हिउदमा धुलो र वर्षामा हिलोको समस्या रहिरहने र यस खण्ड भएर यात्रागर्ने यात्रीहरुले सधै जोखिमपूर्ण यात्रा गरिरहनुपर्ने बाध्यता रहि आएको उल्लेख गरिएको छ ।
भौतिक प्रगति १२–१५ प्रतिशतमात्र
निर्माण व्यवसायीले यस खण्डको बजेट निकासा गरि अन्यन्त्र काम गर्ने परिपाटिले हाम्रो यो सडकको काम हुन नसकेको उनीहरुको भनाई छ । मध्यपहाडी लोकमार्ग पर्वत शाखा अफिसको जानकारी अनुसार हालसम्म वयलडाँडा घोडाबाँधे खण्डमा भौतिक प्रगति १२–१५ प्रतिशतमात्र रहेको र २०८१ असारमा सम्झौता गरि २०८३ असारमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरेको रिजाल तामाङ भगवती जे.भी. ले यहि गतिमा काम गर्दै जाने हो भने काम सम्पन्न गर्न अझै ८ वर्ष लाग्ने देखिएकोले यो गतिले समयमा काम सम्पन्न हुन नसक्ने भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
कामको रफ्तार बढाउनका लागि कार्यतालिका बनाएर सोहि अनुसार अगाडी बढ्नुपर्ने र बागलुङ बयलडाँडा खण्डको पाँचौ पटकसम्म समय थप गर्दा पनि काम सम्पन्न हुन नसकेकोले उक्त खण्डको ठेकेदारलाई तुरुन्त काम सम्पन्न गर्न लगाउनुपर्ने उनीहरुको माग छ । बिहुँबासीले यहि २०८२ कार्तिक मसान्त सम्ममा सम्पुर्ण खण्डको खाल्डाखुल्डी पुरी सबबेस गर्नुपर्ने, आगामी असार मसान्तसम्म सक्नेगरी ठेकेदारले कामको प्रतिशतको रुपमा तालिका प्रस्तुत गर्नुपर्ने र सोही बमोजिम काम अगाडी बढाउनुपर्ने माग गरेका छन् ।
मध्यपहाडी लोकमार्ग बिहुँखण्ड पूर्ण रुपमा बन्द गराउने चेतावनी
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित क्षेत्रको जनप्रतिनिधिहरु, स्थानीयव्यक्तिहरु, मध्यपहाडी लोकमार्गका इन्जिनियरहरु सम्मिलित एउटा अनुगमन समिति गठन गरी मासिक रुपमा कामको प्रगति समिक्षा गर्नुपर्ने, मध्यपहाडी लोकमार्ग वरिपरीका घरहरुमा धुलोले बस्न नसक्ने भएको हुदाँ सडकमा दैनिक पानी छर्ने व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका छन् । यी मागहरुलाई वेवस्ता गरिएमा वा कार्यान्वयन नभएमा यहि मंसिर १ गतेदेखि मध्यपहाडी लोकमार्ग बिहुँखण्ड पूर्ण रुपमा बन्द गराउने साथै बन्दको बेलामा हुनसक्ने परिस्थीतिको जवाफदेही सम्बन्धित हुनुपर्ने चेतावनी समेत दिईएको छ ।
काठेखोला गाउँपालिका—५ र ६ बिहुँबासीको तर्फबाट वडाध्यक्ष ज्ञामनाथ कँडेल र बृहस्पति कँडेलले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । हिजोको दिनमा स्थानीयको पैसा खाएको ठेकेदारले काम नगरेपछि तोडिएको ठेक्कापछि आएको ठेकेदारले पनि काम नगरेको काठेखोला—५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘पहिलेकै ठेकेदारले समयमै काम गरोस् भनेर स्थानीय पैसा समेत दिएका थिए, तर उसले काम गरेन, ठेक्का तोडियो, अहिले नयाँ आएको ठेकेदारको पनि चाला उस्तै छ,’उनले भने,‘यसले गर्दा गाउँमा स्थानीय एकदमै आक्रोसित छन् । आउने असारसम्म सक्नुपर्ने काममा जम्मा १२ प्रतिशत भौतिक प्रगति हुनु निकै दुःखद छ ।’
काठेखोला—६ का वडाध्यक्ष बृहस्पति कँडेलले अब पनि स्थानीय गरेको माग पूरा गर्नेगरी काम अगाडि नबढेमा परिस्थीति जटिल हुने बताए । ‘हामीले सडक निर्माण छिटो होस् भनेर सहजीकरण गर्दै आएका छौं, त्यहाँका नागरिकले धेरै दुःख पाएका छन्,’उनले भने,‘अब पनि समयमै काम सक्नेगरी कार्यतालिका प्रस्तुत गरी त्यस अनुसार काम भएन भने परिस्थीति जटिल हुन्छ । आन्दोलनमा लोकमार्ग ठप्प हुन्छ । त्यसपछि के के हुन्छ हामी भन्न सक्दैनौं ।’ असारमा सक्नुपर्ने सडकमा अहिले जम्मा चार जना कामदार खटाएर रमिता देखाउने काम गरेको उनीहरुको स्थानीयको भनाई छ ।
धुलो र हिलोका कारण स्थानीलाई सास्ती
आन्दोलनमा उत्रिनुपर्ने स्थीति आए दुर्भाग्यपूर्ण हुने स्थानीय भरत सापकोटाले बताए । ‘हामीले विगतमा पनि पटक पटक आन्दोलन गरेका हौं, तीन पटक भयो यही सिडीओ कार्यालयमा बसेर सम्झौता पनि भएको तर अहिलेसम्म काम भएको छैन,’उनले भने,‘हामी फेरी आन्दोलित हुने अवस्था आयो भने ठेकेदार र लोकमार्ग कार्यालयका कर्मचारीलाई समेत घिसारेर बिहुँ ल्याउने अवस्था आउनसक्छ । त्यो नहोस् भन्ने हाम्रो चाहाना हो ।’ सुन्तला जोनको रुपमा रहेको बिहुँमा धूलोका कारण सुन्तलाले उत्पादन दिन समेत छोडिसकेको उनले बताए ।
स्थानीयले पाएको सास्तीको कुनै हिसाब किताब छैन
‘बिहुँबाट सुन्तला किसान एकपछि अर्को विस्थापित हुने अवस्था आएको छ, हाम्रा गाईवस्तुले स्वच्छ घाँस खान पाएका छैनन,’उनी भन्छन्,‘धूलोका कारण बिरामी हुनेको संख्या उस्तै छ । साना बालबालिकालाई समेत क्यान्सर देखिन थालेको छ ।’ काठेखोला—५ का पूर्व वडाध्यक्ष शिव कँडेलले बाहिर जाँदा बाटो नबनेको बनेर बिहुँको बदनाम हुने अवस्था आएको बताए । ‘हामी जाजरकोट जाँदा बिहुँ हाम्रो घर भनेको बाटो बनाउन नदिएको ठाउँ रैछ हैन भन्ने जवाफ सुन्नुप¥यो, बाहिर हामी स्थानीय बाटो बनाउन दिएन भनेर बदनाम भएको छ,’उनले भने,‘यहाँ ठेकेदार र सम्बन्धित कार्यालयले समयमा काम गर्दैनन् । स्थानीयले पाएको सास्तीको कुनै हिसाब किताब छैन ।’
स्थानीय खिमानन्द कँडेल, सुदिप कँडेल, इन्द्र पुन लगायतले स्थानीय हुन्छ भन्ने मिठो बोली नभई काम देख्न चाहेको बताए । उक्त अवसरमा नेपाली काँग्रेस बागलुङका सहसचिव ज्ञानुकुमारी श्रीस शर्मा, नेपाली काँग्रेस काठेखोला सभापति यामदत्त कँडेल लगायतले जनता फेरी आन्दोलित हुने अवस्था आएमा स्थीति जटिल बन्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।
पाँचौ पटक म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको थियो
बागलुङ—बिहुँ अन्तर्गत जम्मा २६ किलोमिटरमध्ये १६ किलोमिटर जतिको काम पूरा भैसकेको छ । उक्त २६ किलोमिटरलाई दुई खण्डमा ठेक्का लगाईएको छ । बागलुङ–बिहुँको १३ किलोमिटर र बिहुँ घोडाबाँधेको १३ किलोमिटर सडकलाई छुट्टाछुट्टै खण्ड बनाएर आर्थिक वर्ष २०७२÷७३ मा दुई वर्षभित्रै काम सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । माथिल्लो खण्डको काम सूर्य कन्ट्रनले अगाडि नबढाएपछि ठेक्का तोडेर गतवर्ष मात्रै अर्को ठेक्का लगाईएको छ । माथिल्लो खण्डमा पाँचौ पटक म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का तोडिएको थियो ।
पुरानो ठेक्का तोडिएपछि माथिल्लो खण्डको १३ किलोमिटर पूरा गर्ने जिम्मा दुई वर्ष भित्र पूरा गर्नेगरी २०८१ असार २१ गते रिजाल÷तामाङ÷भगवती जेभीसँग २१ करोड ४९ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त कम्पनीले अहिलेसम्म जम्मा १५ प्रतिशत भौतिक प्रगती गरेको छ । तल्लो खण्डमा ८० प्रतिशत भौतिक प्रगती भएको छ । तल्लो खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाइसँग दुई वर्षमा पूरा गर्नेगरी ४३ करोड ६५ लाखमा समझौता भए पनि अहिलेसम्म पूरा भएको छैन ।
अहिलेसम्म निर्माण कम्पनीले ३४ करोड बढि भुक्तानी लिईसकेको बताईएको छ । तल्लो खण्डको स्थानीय प्रतिनिधि राजु गौतमले कालोपत्रे गर्न तयार भएको अवस्थामा लोकमार्ग कार्यालय नै काम रोक्न भनेको र काम गरेको भुक्तानी पनि नआएकाले अहिले काम अगाडि नबढेको बताए । ‘तपाईहरुको म्याद थपिन्छ अहिले बर्खा सुरु भयो काम नगर्नु भनेर हामीले कालोपत्रका लागि अन्तिम तयारीमा पुगेको काम रोक्यौं, पुरानो कामको भुक्तानी पनि पाएका छैनौं । अहिले म्याद थपिएको छैन काम अगाडि बढ्न सकेको छैन,’ उनले भने ।
लोकमार्ग कार्यालय र निर्माण व्यवसायीसंग बसेर निकास निकाल्ने
ध्यानाकर्षणपत्र बुझाउन आएकाहरुको कुरा सुनेपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आगामी बिहीबारसम्म लोकमार्ग कार्यालय र निर्माण व्यवसायीसंग बसेर निकास निकाल्ने बताए । ‘लोकमार्ग कार्यालयको हाकिम सरुवा भएको कुरा छ, नयाँ आउनु भएपछि बिहीबार लोकमार्ग कार्यालय र निर्माण व्यवसायीलाई बोलाएका छौं,’उनले भने,‘माथिल्लो खण्डको सवालमा बसेर समाधानको पाटो खोजौंला । तल्लो खण्डको बारेमा सायद ठेक्का रद्द गर्ने विषयको सूचना प्रकाशित भएको छ भन्ने आएको छ । त्यसको ठेक्का रद्दको प्रक्रिया नै अगाडि बढेको जस्तो लाग्छ । के छ त्यो पनि बुझौंला ।’ उनले स्थानीय प्रतिनिधि र निर्माण व्यवसायी, लोकमार्ग कार्यालय सहित बसेर समाधानको पहल गर्ने बताए ।
पाँचथर चिवा भन्ज्याङदेखि सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला पार गर्दै सुदुरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुंगिन्छ । लोकमार्गले मध्यपहाडीका २४ वटा जिल्ला र २२५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्छ । लोकमार्गले छुने जिल्लामध्ये सबैभन्दा लामो दुरी मालढुङ्गादेखि पातीहाल्नेसम्म झण्डै १४० किलोमिटर बागलुङमा पर्छ । लोकमार्गले जिल्लाको पश्चिमलाई सहज बनाएको छ । घोडाबाँदे देखी गलकोट बुर्तिबाङ हुँदै पातिहाल्ने सम्मको सडक यस अगाडी नै कालेपत्रे भएको छ ।