गण्डकी प्रदेशमा सबै मन्त्री फेरिए काँग्रेस एमालेका चार -चार नयाँ मन्त्री

  • ब‌ैशाख २, २०८३

पोखरा । गण्डकी प्रदेशमा सबै मन्त्री फेरिएका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त  मन्त्रीहरुको बुधबार पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४ जना मन्त्री कांग्रेसले पाएको छ भने एमाले पनि चार वटै मन्त्रालय पाएको छ । 

पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र  नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् । 
यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए । 
यसैगरी  एमालेबाट गोविन्द बहादुर नेपाली  भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे  कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् । 
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।

प्रतिक्रिया