बागलुङ- चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा बागलुङ दुई पत्रकार पुरस्कृत भएका छन । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट आदर्श सञ्चार सहकारीका सह–सम्पादक सृजना पन्तलाई पुरस्कृत गरेको छ । पन्त धौलागिरी जागरण दैनिक र नेपाल समाचारपत्रमा कार्यरत छन् ।
उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आइएको छ । यस्तै तीन वर्षदेखि प्रदान गरिदै आएको प्रेस चौतारी युवा कृयाशिल पत्रकारितका पुरस्कार यस वर्ष जननिगरानी साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अर्जुन कार्कीलाई प्रदान गरिएको छ । पन्त र कार्की बागलुङमा एक दशक भन्दा बढीदेखि पत्रकारितामा सक्रिय रहेका छन् । बिहीबार प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले पत्रकार दुई जनालाई नगद १० हजारका दरले पुरस्कृत गरेको जिल्ला अध्यक्ष कमल पौडेलले जानकारी दिए ।
जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको कृयाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक वर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।
यसअघि उक्त पुरस्कार कोषबाट १० जना पत्रकार पुरस्कृत भैसकेका छन् । त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कार कार्कीलार्ई प्रदान गरिएको हो । युवा कृयाशिल पत्रकारिता पुरस्कारबाट यस अघि खेमराज गौतम र तारानाथ आचार्य पुरस्कृत भएका छन् । यस वर्ष क्रियाशिल पत्रकारितका पुरस्कार छनौटमा समितिमा पूर्वकेन्द्रिय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष कमल पौडेल रहेका छन् ।
युवा क्रियाशिल पत्रकारिता पुरस्कार छनौट समितिमा नीति तथा अनुसन्धान आयोगका केन्द्रिय सदस्य उमाकान्त शर्माको संयोजकत्वमा पूर्वजिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष कमल पौडेल रहेका छन् । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलाता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा कृयाशिल पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक राम कृष्ण शर्माले जानकारी दिए ।
समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश÷दश हजार रुपैयाँ रहेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला संयोजक मना केसीले पत्रकार समानको आवाज रहेको बताएकी छिन् । उनले समाजको कथालाई बाहिर ल्याउन पत्रकारले भूमिका खेलेको बताउदै निश्पक्ष रुपमा कमल चलाउन आवश्यक रहेको बताए ।
बिहीबार बागलुङ बजारमा सम्पन्न चौतारीको २८औँ स्थापना दिवसको अवसरमा उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ ईन्चार्ज मन केसी र प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलले दोसल्ला र कदरपत्रले सम्मान प्रदान गरेका थिए । नेता केसीले पत्रकारले देशको समृद्धिका लागि कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका बागलृुङ क्षेत्र नंम्बर १ का उम्मेदवार हिरा केसी, एमालेका केन्द्रीय सदस्य गोविन्द नेपाली, सम्मानित व्यक्तित्व सृजना पन्त, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गणेश गिरी, प्रेस चौतारी नेपालका पूर्वसचिव रामकृष्ण शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा र प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष संगीता रेग्मीको स्वागत र सचिव रोहन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई कृयाशिल पत्रकारलाई पुरस्कृत गरेको छ ।