बागलुङ- जिल्लाको बाडिगाड गाउँपालिकाको एक स्वास्थ्यचौकी निर्माणका निम्ती भारत सरकारको सहयोग प्राप्त हुने भएको छ । बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्यचौकीको सुविधा सम्पन्न भवन निर्माणका निम्ती भारतीय सरकारले चार करोड ७ लाख बजेट उपलब्ध गराउने भएको छ । यसका निम्ती भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच सोमबार सम्झौता भएको छ ।
भारतीय राजदुतावासको विकास साझेदारी तथा पुननिर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाको सात नम्बर वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिईन ।
सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दुतावास काउन्सलर अविनाश कुमार सिंहबीच भवन निर्माणमा रकम उपलब्ध गराउने सम्झौता भएको हो । स्थानीयले स्वास्थ्यचौकीको नाममा पाँच रोपनी जग्गा चन्दा संकलन गरेर खरिद गरिएको थियो ।
उक्त जग्गामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण गर्ने र भारतबाट आउने रकममा गाउँपालिकाले ५ प्रतिशत रकम साझेदारी गर्ने गाउँपालिका अध्यक्ष थापाले जानकारी दिईन । बडिगाड गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासका निम्ती विभिन्न विकासे साझेदारी निकायसँग साझेदारी गर्दै आएको छ । पालिकालाई पोषणयुक्त पालिकाको रुपमा घोषणा समेत गर्ने तयारी गरिएको छ ।