बागलुङ, — जैमिनी नगरपालिका वडा नं. २ मा रहेको दमेक स्वास्थ्य चौकीले न्युनतम सेवा मापदण्ड मुल्याङ्कनमा नगरपालिका भित्रकै उत्कृष्ट स्वास्थ्य संस्था बनेको छ । स्वास्थ्य चौकीले ८२ प्रतिशत अंक प्राप्त गरेर नगरपालिका भित्रकै स्वास्थ्य संस्थाहरू मध्ये उच्चतम अंक हासिल गरेको छ।
स्वास्थ्य शाखा, जैमिनी नगरपालिकाको आयोजनामा दमेक स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिको उपस्थितिमा गरिएको मुल्याङ्कन प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देव प्रकाश घिमिरे, स्वास्थ्य शाखा प्रमुख गोविन्द प्रसाद आचार्य तथा जनस्वास्थ्य निरीक्षक तिर्थ पौडेलले संयुक्त रुपमा सहजीकरण गरेका थिए।
स्वास्थ्य सेवाको गुणस्तर, आधारभूत पूर्वाधार, सेवा पहुँच, अभिलेखीकरण प्रणाली, नागरिक मैत्री सेवा प्रवाह लगायतका सूचकहरूमा आधारित रही भएको मुल्याङ्कनमा जैमिनी भित्रका स्वास्थ्य संस्था मध्ये दमेक उत्कृष्ट भएको प्रादेशिक स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट देवप्रकाश घिमिरेले जानकारी दिए ।
स्वास्थ्यचौकीमा प्रयोग शाला नभएको अवस्थामा पनि अन्य आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नका निम्ती न्युनतम मापदण्ड पुरा भएको र व्यवस्थापन पनि अब्बल बनेको हुँदा मुल्याङ्कनका क्रममा स्वास्थ्य संस्थाले उत्कृष्ट अंक प्राप्त गरको घिमिरेले बताए । स्वास्थ्य संस्थाको न्युनतम मापदण्ड स्वास्थ्य चौकीको पुर्वाधार, सरसफाई, औजार उपकरणको व्यवस्थापन, सेवाग्राही प्रतिको व्यवहार र सुसासन लगायतका विषयहरुमा गर्ने गरिन्छ ।
स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व सेवा गर्भवती तथा सुत्केरी सेवा, ओपिडी सेवा, परिवार नियोजन, क्षयरोग कुष्ठरोगको पोषण लगायतका सेवाहरुलाई थप व्यवस्थित गरिएको हुँदा मुल्याङ्कनमा उत्कृष्ट भएको स्वास्थ्य संस्थाका प्रमुख हेम कुमार आचार्य क्षेत्रीले जानकारी दिए । जैमिनीमा यस अगाडी सर्कुवा स्वास्थ्य चौकी ७७ प्रतिशत अंक ल्याएर उत्कृष्ट भएको थियो । जिल्लामा भने गलकोट नगरपालिका २ नरेठाँटीमा रहेको नरेठाँटी स्वास्थ्य चौकी मुल्याङ्कनमा उत्कृष्ट रहेको छ ।