बागलुङ- बागलुङ नगरपालिका कार्यालयका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको टिमले पदबहाली गरेको तिन वर्ष भएका छन । तिन वर्षको अवधिमा श्रेष्ठ नेतृत्वको टिमले पालिका भित्र गरेका काम कारबाही के कस्ता भए त्यसको बारेमा सार्वजनिक गरिएको छ । २०७९ साल जेठ ६ गते नगरपालिकामा पदबहाली गरेपछि यो तिन वर्षको अवधिमा गरेका काम नगरप्रमुख श्रेष्ठले सार्वजनिक गरेका छन ।
अघिल्ला दुई वर्ष आफुहरुले गरेका कामको फेहरिस्त प्रस्तुत गरेका नगरप्रमुख वसन्तकुमार श्रेष्ठ तेस्रो बर्षमा आफुहरुले गरेका ४१ बुँदामा समावेश गरी प्रगति विवरण र आगामी कार्ययोजना समेत सार्वजनिक गरेका छन ।
आफुहरु पदबहाली गरेपछि पहिलो कार्यपालिका बैठकले निर्णय गरेको बालमैत्री नगर घोषणा गरेको बिषय यस वर्षको मुख्य उपलब्धीको रुपमा रहेको छ । त्यसैगरी बा.न.पा ४ मा संचालन भएको आधुनिक बागलुङ बसपार्क उद्घाटन गरेको बिषयलाई पनि नगरपालिकाले यस वर्षको उपलब्धीको रुपमा राखेको छ । । नगर प्रमुख श्रेष्ठले सार्वजनिक गरेको सूचीमा नीतिगत व्यवस्था तथा सुशासन तर्फ नौ बुँदामा प्रगतिको चर्चा गरिएको छ । डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द गरेको, दश तलासम्मको घर निर्माणमा नक्सा पास, कर्मचारीलाई उत्तरदायी बनाइएको, घरदैलो तथा घुम्ती सेवा सञ्चालन, उपभोक्ता सहभागिता दश प्रतिशतमा झारिएको, योजना सम्झौता सहज बनाइएको जस्ता नियमित काम प्रगति विवरणमा उल्लेख छन् ।
भौतिक उपलब्धितर्फ सडक निर्माण, भवन निर्माण, खानेपानी र सिंचाइका योजना सञ्चालन गरेको विषय श्रेष्ठले प्रगतिको सूचीमा राखेका छन् । बागलुङ बजारमा आकाशे बत्ति राख्ने, विद्युतीकरण, एकिकृत बस्तिका लागि डीपीआर तयार गरेको र भूमिहीनका लागि जग्गा दिने काम अघि बढेको विषय विवरणमा उल्लेख छ ।
सामाजिक बिकासतर्फ नगरले बालमैत्री नगरसँगै बिद्यालयको तह मिलान, जेष्ठनागरीकलाई दिइएको सेवा, नगरकी छोरी कार्यक्रम, सामि परियोजनामार्फत् गरेका परामर्श र राहत वितरणका प्रगति , फोहोर मैला व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका कामलाई तीन वर्षको प्रगति मानिएको छ ।
आर्थिक बिकासतर्फ हेफर प्रोजेक्टसँग मिलेर बाख्रा, बोका वितरण, कागती, सुन्तला, ओखर र किविका बिरुवा वितरण गरेको श्रेष्ठले बताए । गोठ सुधार, नस्ल सुधार, तालिमरगोष्ठीजस्ता कार्यक्रमहरु प्रगतिमा उल्लेख छन् । नगरले तीन बर्षको अबधिमा ५८ जना गरिव तथा विपन्न परिवारका युवाहरुलाई उद्यम व्यपार व्यवसाय सञ्चालनका लागि सहुतिलयमा कर्जा दिएको जनाएको छ ।
श्रेष्ठले सम्पूर्ण मतदाताहरूको अमुल्य मतको हार्दिक सम्मान गर्दै यो अवधिमा नगरवासीहरूको आवश्यकता र चाहना वमोजिम बागलुङ नगरलाई समुन्नत नगर बनाउन विविध कार्यक्रम र योजनाहरू संचालन तथा सम्पन्न गर्नुका साथै विकास निर्माणका धेरै योजना तथा कार्यक्रमहरू संचालन हुने प्रकृयामा रहेको बताएका छन ।