बागलुङमा न्यायिक सम्मेलन हुने

  • ब‌ैशाख २६, २०८२

बागलुङ-! जिल्लामा न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेश स्तरीय सम्मेलन हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा आगामी बैशाख २८ र २९ गते देशकै प्रसिद्व शत्तिपिठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा हुने सम्मेलनमा गण्डकी प्रदेशका स्थानीय तहअन्तर्गत गठित ८५ न्यायिक समितिका संयोजकहरु सहभागि हुने छन् ।

सम्मेलनमा न्यायिक समितिका काम कारवाहीको प्रभावकारिता अभिवृद्वि गर्ने, साझा चुनौतीहरुको पहिचान गर्दै समाधानका उपायहरु खोजी गर्ने, कानुनी संरचनाहरुलाई थप व्यवस्थित बनाउन तथा स्थानीय पालिकाहरुको पर्यटनको संभावना तथा पर्यटन विकासका लागि साझा उदेश्य तय गर्ने विषयमा छलफल हुने ठोस योजना बन्ने आयोजक बागलुङ नगरपालिकाका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक राजु खड्काले जानकारी दिए ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको खड्काले बताए । सम्मेलनमा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटाले गण्डकीको पर्यटन, न्याय र शान्ति, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्माले गण्डकी प्रदेशको न्यायिक समितिको कार्यसम्पादनमा एकरुपता, संविधानविद काशीराज दाहालले न्यायिक समितिको कार्यसम्पादन र मेलमिलापको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा गण्डकीका न्यायिक समितिको न्यायिक प्रोफाइल बनाउने विषयमा छलफल हुने खड्काले बताए ।

‘‘गण्डकी प्रदेशमा न्यायिक समितिको काममा एकरुपता ल्याउने, पर्यटन विकास र अन्तरपालिका सम्बन्ध विस्तारबाट आफ्ना कामहरुलाई अगाडि बढाउन सम्मेलन केन्द्रित हुने छ’’ उप–प्रमुख खड्काले भने । उप–प्रमुखहरु धेरै समितिको संयोजक भएर काम गर्नु परिरहेकोले ज्ञान, सिप र अनुभवको आवश्यकता पर्ने हुनाले सम्मेलनमा अनुभव आदानप्रदान पनि गरिने खड्काको भनाई छ । स्थानीय स्तरमा मेलमिलाप सहितको प्रभावकारी अभ्यासलाई प्रदेशभर एकरुपता ल्याउन सके आम नागरिकलाई न्याय र शान्तिको महशुस हुने खड्काले बताए ।

पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले सम्मेलनमा सहभागि हुन आउने पाहुनालाई बागलुङका चर्चित धार्मिक पर्यटकीय स्थल बागलुङ कालिका भगवती मन्दिर, पञ्चकोट र शालिग्राम संग्राहलयको अवलोकलन गराउनुका साथै सम्मेलन स्थलमा जिल्लाका पर्यटकीय स्थलको फोटो प्रदर्शनी गरिने छ । यस्तै, बागलुङका दशै ओटा पालिकाका मौलिक तथा साँस्कृतिक परम्परा झल्कने गीत तथा नृत्यु प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको उप–प्रमुख खड्काले जानकारी दिए ।

प्रतिक्रिया