बागलुङ- बागलुङ जेसीजको साप्ताहिक कार्यक्रम शुभारम्भ भएको छ । प्रत्येक वर्ष आयोजना हुँदै आएको जेसीज सप्ताह यस वर्ष भदौ ९ देखि १५ गतेसम्म सञ्चालन हुने मूल संयोजक तथा बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष सुलभ खड्काले जानकारी दिए ।
युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले जेसीजले पहिलो दिन दुई युवालाई सम्मान गरेको हो ।
समाज रूपान्तरणमा योगदान पु¥याएको भन्दै ट्राभलर तथा युवा फोटोग्राफर सन्दीप शर्मा र सन्ध्या क्रिएसन बुटिक एन्ड मेकअप स्टुडियोका सञ्चालक तथा युवा व्यवसायी सन्ध्या राजभण्डारी श्रेष्ठलाई सम्मान गरिएको हो । दुवै युवालाई बागलुङ जेसीजका पूर्वअध्यक्ष दिवाकर शाक्यका बुबा कृष्णप्रसाद शाक्यको स्मृतिमा स्थापना गरिएको कृष्णप्रसाद शाक्य स्मृति कोषबाट युवा सम्मान प्रदान गर्दै आइएको छ ।
बागलुङ जेसीजका पूर्व अध्यक्ष एवं बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठले संयुक्त रूपमा शर्मा र राजभण्डारीलाई सम्मान गरेका हुन ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले समाजमा उदाहरणीय कार्य गर्नेलाई जेसीजले हरेक वर्ष सम्मान गर्दै आएको यो उत्कृष्ट कार्य भएको बताए । उनले सानो सम्मानबाट ठुलो प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे । श्रेष्ठले जेसीजले समाजमा सन्देश प्रवाह गर्ने विभिन्न रचनात्मक क्रियाकलाप सहित हरेक वर्ष जेसीज सप्ताह मनाउँदै आएको बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष पार्वती अधिकारी, बोर्ड अफ ट्रस्टीका अध्यक्ष सुरेशप्रसाद श्रेष्ठ लगायतले बालेका थिए ।
बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष एवं मूल संयोजक सुलभ खड्काले स्वागत गरेका थिए भने महासचिव स्वीकृति भारीले संचालन गरेका थिए ।
सप्ताह कार्यक्रम अन्तर्गत भदौ १० गते धवलागिरि बहुमुखी क्याम्पसमा मनोपरामर्श कार्यक्रम, भदौ ११ गते लोकतान्त्रिक चोकमा ‘सत्यदेवी स्मृति ‘स्लो बाईक रेस’ प्रतियोगिता’, भदौ १२ गते होटल दि राजनमा उद्घोषण कला तालिम र भदौ १३ गते रस आवर फुटसलमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुदैँछ ।
त्यस्तै, भदौ १४ गते राधाकृष्ण मन्दिरमा १२औँ अन्तरविद्यालय नृत्य प्रतियोगिता आयोजना गरिएको छ भने भदौ १५ गते होटल पिस प्यालेसमा मूल समारोह तथा प्रगती कुमार श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बागलुङ जेसीजले जनाएको छm।
युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले जेसीज सप्ताहअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिएको हाे।