बागलुङ- जिल्लामा पत्रपत्रिका थिएनन् । राजधानीबाट आउने पत्रपत्रिका पनि साता–दश दिनपछि मात्रै आइपुग्थे । त्यतिबेला नागरिकमा सूचनाको पहुँच थिएन । जसका कारण नागरिकले पाउनै पर्ने सेवा पनि पाएका थिएनन् । २०४६ को प्रजातन्त्र प्राप्तीभन्दा अघि निजी क्षेत्रको समाचारपत्र नै थिएनन् । छिटफुट निस्कने साप्ताहिक पत्रिकाले पञ्चायत विरोधी मिसन पत्रकारिता गर्थे । सरकारी संचार माध्यमले भने सरकारले गरेका कामको समाचार बढी लेख्नुपथ्र्यो ।
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवशको अवसरमा बागलुङ शाखाले आयोजना गरेको ‘उबेलाको पत्रकारिता’ अग्रजसँग सम्बाद श्रृंखलामा बोल्दै अग्रज पत्रकार विश्वनाथ रेग्मीले सरकारले गरेका कामको मात्र समाचार लेख्ने दिनबाट अहिले स्वतन्त्र र निर्भिक भएर लेख्ने दिन आएको बताए । उनले राज्यको ध्यानाकर्षण गर्ने गरी समाचार लेख्न आग्रह पनि गरे । साथै, यातायातको सहजताले समयमा सबै स्थानमा घुमेर समाचार लेख्न सकिने अवस्था बनेकोमा रेग्मीले खुसी व्यक्त गरे ।
रेग्मी २०४० सालमा राससमा नियुक्त भएका थिए । उनले अञ्चलाधिसले गरेका काम, सिडिओ र अन्य सरकारी कार्यालयको समाचार लेख्थे । कतै पुल उद्घाटन भयो भने ‘हालै सम्पन्न भयो’ भन्ने उल्लेख गर्नुपथ्र्यो भन्छन्–रेग्मी । किनकी समाचार लेखेर रजिष्ट्रर गरी पठाएपछि राससमा पुगेर छापिन चाहिँ साता लाग्थ्यो । त्यसैले हालै भनेर नलेखे त्यो पुरानो समाचार जस्तो मानिने उनले बताए ।
२०४६ सालको परिवर्तन पछि पुरुषोत्तम दाहालले संचालन गर्ने घटना र विचार कार्यक्रममा पनि रेग्मीले समाचार पठाए । त्यतिबेला भने जनताको पक्षका विषय लेख्न सकिन्थ्यो । त्यसपछि मानवअधिकार हनन् भएको जिकिर गरेको, भिडन्त भएको घटना, घाइते भएको दाबी, प्रहरीले लाठीचार्ज गरेको आरोपजस्ता शीर्षकका समाचार आउन थालेको उनले बताए ।
समाचार तथ्यमै आधारित भएपनि सरकारले गरेका काम बढी लेख्नुपर्ने र सोही अनुसार प्रकाशित हुने गरेको रेग्मीको भनाइ छ । ‘प्रशासनका मानिस अहिले पनि आफ्नो पक्षमा समाचार लेखिदेओस् भन्छन्,’ उनले भने, ‘सरकारी समाचार लेख्दा नागरिकको सूचनाको अधिकार पनि ख्याल गरौं ।’ लोकतन्त्रले सबैको सूचना पाउने अधिकार रहेको भन्दै निश्पक्ष समाचार लेख्न उनले आग्रह गरे ।
प्रेस युनियन बागलुङका संस्थापक जगन्नाथ आचार्यले नागरिकलाई सचेत बनाउने काममा पत्रकारिताको भूमिका महत्वपूर्ण भएको बताए । ‘लोकतन्त्र र गणतन्त्रको विकल्प अरु व्यवस्था होइन, त्यो कुरा पत्रकारिताले मात्र जनतालाई सिकाउन सक्छ,’ उनले भने, ‘समाज विकासका लागि पनि पत्रकारिताले खबरदारी गर्नैपर्छ ।’ राज्य जहिले पनि शोसक र निरंकुश बन्ने भएकोले जनताको पक्षका कुरा बाहिर ल्याउने काममा पत्रकार लाग्नुपर्ने बताए । उनले आफ्नो पत्रकारिताको समयमा सरकारी संचार माध्यमले दिएको सूचनाको भर पर्नै नसक्ने अवस्था बनेको बताए । ‘सरकारी संचार माध्यमले दिएको सूचना अपूर्ण हुन्थ्यो, त्यसैले बिबिसी सुन्नुपथ्र्यो,’ उनले भने, ‘अहिले पनि सरकारी प्रशासकले पत्रकारलाई एकतर्फी सूचना मात्रै दिन्छन् ।’
कार्यक्रममा अर्का अग्रज साहित्यकार तथा ‘धौलागिरिको ६ दशकीय पत्रकारिता’ विषयक पुस्तकका संकलनकर्ता प्रेम छोटाले इतिहासको संरक्षण गर्न पनि पत्रकारिता लाग्नुपर्ने बताए । सत्य र तथ्य समाचार लेखेर राखियो भने इतिहास समेत जोगाउन सकिन्छ’ छोटाले भने, ‘मैले त केही समय हस्तलिखित पत्रिका निकाले पनि निरन्तर पत्रकारिता गरिन, बरु पत्रकारहरुले गरेका कामलाई संकलन गरेको हुँ ।’ २००८ सालको सहि बाटो नामक हस्तलिखित पत्रिकादेखि अहिलेको आधुनिक पत्रकारितासम्मका विषय छोटाले पुस्तकका आधारमा प्रकाशित गरेका छन् ।
कार्यक्रम नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगरको अध्यक्षता, सचिव डम्बर बुढाको संचालन र उपाध्यक्ष सुवास आचार्यको स्वागतमा सम्पन्न भएको थियो । युनियनले ‘उबेलाको पत्रकारिता’ विषयक श्रृंखला भने नियमित संचालन गर्ने र अग्रजहरुको कुरा सार्वजनिक चौतारो वा अन्य स्थानमा पुगेर भए पनि सुन्ने सुनाउने योजना बनाएको घर्तीमगरले जानकारी दिए ।