काठेखोलाको नीति : स्थानीय रुपमा उत्पादन हुने बस्तुहरुको ब्रान्डिङ गर्ने

  • असार ७, २०८२

बागलुङ- बागलुङको काठेखोला गाउँपालिकाले स्थानीय रुपमा उत्पादन हुने बस्तुहरुको ब्रान्डिङ, प्याकेजिङ र लेबलिङ  गरी बजार व्यवस्थापन गर्ने निति ल्याएको छ ।  शुक्रबार गाउँपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सावंजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले बदलिँदो बजार मागलाई ध्यानमा दिँदै यस क्षेत्रमा उत्पादन हुने रैथाने बस्तुको व्यवस्थापन गर्ने बताएका हुन । उनले यस क्षेत्रमा उत्पादन हुने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालिगुँरासको जुस, अदुवाको मिठाई, अचारलाई व्यवसायीक गर्दै गाउँपालिका भित्रका सवै वडाहरुमा उत्पादन हुने स्थानिय उत्पादनको ब्रान्डिङ र प्याकेजिङ गर्ने निती ल्याएका छन । 
यसका साथै गाउँपालिकाले स्थानियरुपमा उत्पादन हुने  मदिरा (रक्सी)लाई ब्रान्डिङ र लेवलिङ गर्ने नीति लिएको छ ।  कोदोको अर्गानिक लोकल रक्सीलाई ब्रान्डिङ र लेवलिङ गरी विक्री वितरण गर्न प्रक्रिया अगाडी बढाउने नीति सार्वजनिक गरिएको छ । 
गाउँपालिकाले बाँदर व्यवस्थापन कार्यक्रम संचालन गर्ने भएको छ । अध्यक्ष थापाले सामुदायिक वन उपभोक्ता समुहहरुसँग सहकार्य गरी बाँझो तथा सामुदायिक वन जंगलहरुमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा अनिजजन्य खाद्यान्नहरु लगाएर बाँदर व्यवस्थापन गर्ने नीति सार्वजनिक गरेका छन् । 

गाउँपालिका भित्र उत्पादन हुने नाङ्लो, डाली, मकैको भुट्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरुको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ संकलन गरिने भएको छ । 
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न तरकारी मिनिकिट अनुदान कार्यक्रम, चिया, अलैची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्दै कृषि पकेट पूर्वाधार कार्यक्रम संचालन, कृषकको उत्पादानलाई संकलन र बजारीकरणको लागि काठेखोला कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण र सञ्चालन गर्ने जनाएको छ ।

गाउँपालिका भित्र रहेको पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यापर्यटन रुपको विकास गरी पूर्वाधार निर्माण गरिने र नीजि क्षेत्रसँग समन्वय गरि जडिबुटि उत्पादन र प्रशोधन केन्द्र संचालन गरिने अध्यक्ष थापाले नीति ल्याएका छन् । यस्तै आम नागरिकहरुमा शैक्षिक जागरणका नविनतम कार्यक्रम संचालन गर्न सवैको लागि शिक्षा संचालनमा जोड दिने, गाउँपालिका भित्र बन्ने नयाँ संरचनाहरुमा बाल तथा अपाङ्गमैी भौतिक संरचना निर्माणमा जोड दिने र विद्यालयहरुको खाजामा जंकफुट रहित बनाउन सबै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम संचालन गरिने भएको छ । त्यस्तै उपाध्यक्षसँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो ।

गाउँपालिकाका सवै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने । स्वास्थ्य तर्फ १२० विपन्न घर परिवारहरुलाई निःशुल्क बीमा लगायतका कार्यक्रम जोडिएको हो । गाउँपालिकाले प्रतिभा पहिचान कार्यक्रम र सृजनशिल शुक्रवार पनि बिद्यालयमा संचालन हुने, लोप हुन लागेका गतिसंगीतको संरक्षण, प्रवद्र्धन र उजागरमा जोड दिने योजना छ । यस्तै लक्षित समुदायहरुको सीप क्षमता विकास का लागि विगतदेखि संचालनमा आएको अध्यक्षसँग सीप विकास कार्यक्रमलाई निरन्तरता दिने, दलित समुदायहरुको शसक्तिकरण र आर्थिक आयआर्जन वृद्धि गर्न दलित शसक्तिकरण अभियान संचालन गरिने भएको छ ।

पूर्वाधार तर्फ गाउँपालिकाले हरेक वर्ष गाउँपालिका भवनदेखि वडा कार्यालयसम्म जोड्ने सडकलाई गौरवको योजनामा समावेश गर्दै स्तोरन्नती गर्ने योजना यस वर्ष वडा  नम्बर ३ धम्जा र वडा नं। ७ रेशेको वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति गरिने भएको छ । यस्तै गाउँपालिका र वडा कार्यालयसँगको साझेदारीतामा वडा कार्यालयले संकलन गरेको राजश्व रकम बराबरको साझेदारीतामा  प्रत्येक वडाको सडक ढलान, ग्रावेलिङ, ग्याविन लगायतका काममा जोड दिइने र सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरि वातावरणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिने र यस वर्ष ५० प्रतिशत पूर्वाधार संरचनाको निर्माण कार्य गर्ने नीति अवलम्वन गरिने नीति लिइएको अध्यक्ष थापाले जानकारी दिए । 
गाउँपालिकाले हरेक वर्ष संचालन गरेको प्रतिभा पहिचाहन कार्यक्रमलाभई यस वर्ष शिक्षकलाई पनि समेटने नितिमा उल्लेख गरेको छ । निति तथा कार्यक्रममा सामाजिक समोशिकरण कार्यक्रम अन्तरगत दलित समुदायहरुको शशत्तिकरण र आर्थिक आर्यआर्जन बृद्धि गर्न दलित शशत्तिकरण अभियान संचालन गरिने उल्लेख गरिएको छ । 

 
 

प्रतिक्रिया