बागलुङ- वर्तमान उच्च शिक्षालाई समय अनुसारको र रोजगारी सिर्जना गर्ने खालको बनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । धवलागिरी बहुमुखी क्याम्पस बागलुङको ६३ औं स्थापना दिवसको अवसरमा आयोजित धवलागिरीमा उच्च शिक्षा ः सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले वर्तमान शिक्षाले विद्यार्थीलाई माटोसंग जोड्न नसक्दा समस्या भैरहेको बताए ।
‘अहिलेको हाम्रो शिक्षाले विद्यार्थीलाई माटोसंग जोड्न सिकाउँदैन,’उनीहरुले भने,‘त्यसले गर्दा पनि विद्यार्थीहरु शिक्षा त पाउँछन् तर सीप पाउँदैनन् । सीप बिनाको शिक्षाले गरिखान सिकाउँदैन ।’ त्यसका लागि वर्तमान शिक्षा प्रणालीमा पनि सुधार गर्नुपर्ने उनहरुको भनाई थियो । ‘हाम्रो शिक्षालाई सीपमूलक बनाउनका लागि त्यही अनुसारको पाठ्यक्रम निर्माण गर्नुपर्छ,’उनीहरु भन्छन्,‘त्यसका लागि नीतिगत रुपमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।’ विद्यार्थीले रोजेको र इच्छाएको रोजगारीको सुनिश्चीतता गर्ने खालको विषयमा पढाई नहुँदा पनि विश्वविद्यालय र क्याम्पसहरु खाली हुने अवस्था बनेको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालमा केही नभएका कारण विदेशीय भन्नु गलत भाष्य भएको बताए । ‘नेपालमा केही छैन त्यसकारण सबै विदेश गए भनेर भन्नु गलत छ,’उनले भने,‘नेपालमा केही न केही भएको छ । जति हुनुपर्ने हो त्यति भएको छैन । हामीले यही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भरोसा सिर्जना गर्न नसकेका कारण विदेश जानेक्रम बढेको हो ।’ नयाँ सीप र क्षमता विकास गर्न र शिक्षा आर्जनका लागि विदेश जान दिनुपर्ने उनको मत छ ।
‘हामीले यहाँ दिन नसक्ने कुरा सिक्न र आर्जन गर्नका लागि विदेशमा जान दिनुपर्छ,’उनले भने,‘विदेशमा सिकेको सीपलाई यहाँ ल्याएर प्रयोग गर्ने वाताबरण बनाउनेमा ध्यान दिन सक्यौं भनेर विदेश जाने चलनले पनि हामीलाई फाईदा नै पुग्नेछ ।’ विद्यार्थीहरु अध्ययनका लागि एक देशबाट अर्को देशमा जाने चलन नेपालमा मात्र नभएर विश्वका विकसित देशहरुमा पनि रहेको उनले बताए । ‘शिक्षाका लागि एउटा देशबाट अर्को देशमा जाने चलन अहिले विश्वव्यापी नै भएको छ,’उनी भन्छतन्,‘चीनबाट सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्न विदेशमा जान्छन् । त्यसपछि भारतबा विदेश जाने संख्या देखिन्छ । नेपाल सानो मुलुक हुँदा पनि अहिले विदेशमा विद्यार्थी जाने देशमा विश्वको सातौं स्थानमा पर्छ ।’
शर्माले वर्षमा झण्डै एक लाख ४० हजार नो अब्जेक्सन लेटर लिने गरेको बताए । नेपालमा क्यूएए प्राप्त गर्ने निश्चीत क्याम्पसहरुमा धवलागिरी बहुमुखी क्याम्पस पनि रहेकाले यसको भविष्य उज्ज्वल रहेको उनले सुनाए । ‘यो क्याम्पसले समाजका लागि आवश्यक धेरै क्षेत्रका विशिष्ट व्यक्तित्वहरु उत्पादन गरेको छ,’शर्माले भने,‘क्यूएए प्राप्त गर्ने थोरै क्याम्पसहरुमा यो पनि छ । यसले आफुलाई व्यवस्थीत गर्दै लैजादा यसको भविष्य उज्जवल छ ।’ उनले क्याम्पसको समग्र विकासका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग अवश्यक गर्ने बताए । कार्यक्रममा बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले धवलागिरी क्याम्पसलाई सबैको क्याम्पस बनाउन आग्रह गरे ।
‘अहिले क्याम्पस यहाँ आउने विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुका लागि मात्रै क्याम्पस भएको छ,’उनले भने,‘यसलाई सबैको क्याम्पस बनाउनका लागि क्याम्पसले मेहनत गर्नुपर्छ । त्यसो भएको खण्डमा मात्रै यहाँको समुदायले पनि दिल खोलेर सहयोग गर्छ ।’ उनले क्याम्पसले स्पष्ट कार्ययोजना लिएर आए नगरपालिको सहयोग गर्न तयार रहेको बताए ।
‘अहिलेसम्म क्याम्पसबाट सहयोग माग्न आउने भनेको अवलोकन भ्रमण र कुनै पुस्तक प्रकाशनका लागि विज्ञापन माग्न आउने चलन छ, मेरो अनुरोध छ अब त्यस्तो कामका लागि हामीसंग नआउनुस,’श्रेष्ठले भने,‘हामीले यहाँ गर्न सकिन्छ स्पष्ट देखिनेगी खाका बनाएर आउनहोस् । ४०÷५० लाखको योजना लिएर आउनुहोस ।’
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव एवं जैमिनी नगरउपप्रमुख हरिहर शर्माले विद्यार्थीलाई पढ्दै कमाउदै गर्नेगरी आय आर्जनसंग जोड्न नसके कसैले चाहेर पनि विद्यार्थी नरोकिने बताए । ‘विद्यार्थीले पढ्दा पढ्दै कमाउने वाताबरण बनाउन सकिएन भने कसैले चाहेर यहाँ विद्यार्थी रोकिन्नन्,’उनले भने,‘त्यसका लागि सबै क्षेत्रबाट साझा दृष्टिकोण बनाएर काम गर्नुपर्छ ।’
राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष एवं काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा तिलकले शैक्षिक संस्थालाई विद्यार्थी चाहे जसरी विकास गर्नुपर्नेमा जोड दिए । ‘हामीले विद्यार्थी आउन कम भए त भन्यौं, किन कम भए भन्ने विषयको अध्ययन गरेनौं कि,’ उनले भने,‘हामीले विद्यार्थीले चाहे जस्तो शैक्षिक संस्था बनाउन सकेनौं कि ? त्यसतर्फ ध्यान जानु आवश्यक छ ।’
कार्यक्रममा धवलागिरी क्याम्पस व्यवस्थापन समितिका सदस्य जगन्नाथ आचार्य, बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेल, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर शर्मा, पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी क्याम्पसका अध्यक्ष आस्मिन शेख, शिक्षक भूमिराज गौतम, पूर्व स्ववियु अध्यक्ष सुदिपसागर कँडेल, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, धवलागिरी बहिरा आवासीय टेक्स विद्यालयका प्रध्यानाध्यापक रेशम श्रीस, विद्यामन्दिर माविका प्रअ छविरमण रेग्मी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य लगायतले सुझाव मन्तव्य राखेका थिए ।
उनीहरुले धवलागिरी क्याम्पस अध्ययन अनुसन्धानमा केन्द्रीत गर्न आग्रह गरेका थिए । ‘धवलागिरीकै एक मात्रै आंगिक र ठूलो क्याम्पस भएकाले अनुसन्धानको क्षेत्रमा यसले लिडिङ गर्नुपर्छ,’उनीहरुले भने । कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापाले धवलागिरीमा उच्च शिक्षा समभावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा धवलागिरी बहुमुखी क्यामपसका विविएका पूर्ण संयोजक विप्लव शर्माले विविएमा क्याम्पसले गरेको प्रगति बारेमा जानकारी गराए भने डा. देवबहादुर क्षेत्रीले पछिल्लो समय विद्यार्थीले छनोट गर्ने विषयहरुका बारेमा अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । क्याम्पस सञ्चालन समिति अध्यक्ष प्रा.डा. दिनबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्याम्पस प्रमुख सहप्राध्यापक डा. सुदर्शन शिलवाल र सञ्चालन सहकायक क्याम्पस प्रमुख डा. डिल्लीराज गौतमले गरेका थिए ।
वि.सं. २०१९ साल जेठ १ गते स्थापना भएको क्याम्पसमा भदौ २ गतेबाट औचापरिक पठन पाठन सुरु भएको दिन पारेर स्थापना दिवस मनाईएको हो । क्याम्पसले श्रीपञ्चमीमा वार्षिकोत्सव मनाउने गरेका कारण यो दिन ओझेलमा परेकाले यसलाई पनि उजागर गर्न अहिले कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ ।