नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल, आश्रममा खाद्यान्न वितरण

  • ब‌ैशाख ७, २०८३

बागलुङ-नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो ५७औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाएको छ । नेविसंघ बागलुङ र धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न सेवा–मुखी कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो भने मानवसेवा आश्रम बागलुङमा आश्रित नागरिककाहरूका लागि खाद्यान्न सहयोग गरिएको नेविसंघ धौलागिरी बहुमुखी क्याम्पसका कार्यवाहक इकाई सभापति सचिन हरिजनले जानकारी दिए । उनले नेविसंघले आफ्नो स्थापना दिवसलाई केवल औपचारिकतामा सीमित नराखी समाजप्रति उत्तरदायी र सेवामुखी संगठनको रूपमा स्थापित गर्न यस्ता कार्यक्रम संचालन गरिएको जानकारी दिए । 
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव तथा नेविसंघका पूर्व सहमहामन्त्री हरिहर शर्माले विद्यार्थी संगठन केवल राजनीतिमा सीमित नहुने उल्लेख गर्दै समाजसेवा, मानवीय सहयोग र जिम्मेवार नागरिक निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले युवाशक्तिलाई सकारात्मक दिशामा परिचालन गर्न यस्ता रचनात्मक गतिविधिहरू अपरिहार्य रहेको बताए ।
कार्यक्रममा नेविसंघका पूर्व जिल्ला अध्यक्ष विशेष पराजुली, दिपक सुवेदी, विद्यार्थी नेताहरू श्रीकृष्ण पौडेल, दिपसागर सुवेदी, सुन्दर आचार्य लगायतको सहभागिता रहेको थियो । सहभागीहरूले नेविसंघको इतिहास, योगदान र आगामी चुनौतीहरूबारे चर्चा गर्दै संगठनलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाल विद्यार्थी संघ, जसको स्थापना २०२७ सालमा भएको हो, नेपाली काँग्रेस निकट विद्यार्थी संगठनका रूपमा परिचित नेविसंघ प्रजातान्त्रिक मूल्य–मान्यता, शैक्षिक सुधार, विद्यार्थी अधिकार र सामाजिक न्यायका पक्षमा  लामो समयदेखि संघर्ष गर्दै आएको छ । विभिन्न राजनीतिक परिवर्तनका आन्दोलनहरूमा समेत नेविसंघले अग्रणी भूमिका निर्वाह गरेको इतिहास रहेको छ । 

स्थापना दिवसका अवसरमा गरिएको यो कार्यक्रमले नेविसंघको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता मात्र होइन, विद्यार्थी संगठनले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश पनि दिएको विद्यार्थी नेताहरु बताउँछन ।  पछिल्लो समय विद्यार्थी राजनीतिमा देखिएको निराशालाई चिर्दै यस्ता रचनात्मक र सेवामूलक कार्यक्रमले जनस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको  छ । नेविसंघले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक क्षेत्रसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय