आधिकारिक विक्रेताबाट मात्र ग्यास लिन प्रशासनको आग्रह 

  • साउन २४, २०८३

दैनिक रुपमा खाना पकाउने ग्यासको कृतिम अभाव देखिएको हुनाले सहजिकरणका निम्ती जिल्ला प्रशासन कार्यालय बागलुङले आधिकारिक विक्रेताबाट मात्र उपभोक्तालाई ग्यास खरिद गर्न आग्रह गरेको छ । 
आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला एलपी ग्यास आपूर्ति व्यवस्थापन समन्वय बैठकले सो निर्णय गरेको हो । 
जिल्लामा देखिएको एलपी ग्यास अभावलाई मध्यनजर गर्दै प्रशासन कार्यालयले ग्यास आपूर्ति तथा वितरणलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 
बागलुङका  १ हजार १७० सिलिन्डर गृहलक्ष्मी र ७५२ सिलिन्डर शक्ति ग्यास गरी कुल १ हजार ९२२ सिलिन्डर ग्यास वितरणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । 
बैठकले सदरमुकाम क्षेत्रमा रहेका १८ वटा एलपी ग्यास वितरक मार्फत नियमानुसार ग्यास वितरण गर्ने, वितरणका लागि छुट्टै फाराम तयार गरी प्रत्येक विक्रेताले उपभोक्ताको अभिलेख राख्ने निर्णय गरेको छ । त्यसका साथै जैमिनी क्षेत्रमा पनि २५ वटा ग्यास सिलिन्डर पठाउने तयारी भएको छ । 
सदरमुकाम बाहिरका व्यापारिक केन्द्रहरूमा ग्यास अभाव हुन नदिन स्थानीय तह, वितरक तथा सम्बन्धित निकायबीच समन्वय गरी आपूर्ति व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ । उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न जिल्ला प्रहरी कार्यालयमार्फत सचेतनामूलक सन्देश प्रवाह गरिने जनाइएको छ ।
बैठकमा ग्यास वितरणलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका सरोकारवाला निकायले आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय भएको छ । 
 

प्रतिक्रिया