• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र ,
  • स्थानीय सरकार

बडिगाडमा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण

  • भदौ १८, २०८२

नारायण रिजाल, बागलुङ ।   राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेे सवै लाभग्राहीलाई आगामी भदौ मसान्त भित्र अनिवार्य नविकरण गर्नुपर्ने प्रावधान बनाएको छ । यस वर्ष बायोम्याट्रिक अनिवार्य भएको हुँदा लाभग्राही स्वयं पालिका वा वडा कार्यालयमा उपस्थित भए नविकरण गर्नुपर्ने छ । तर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त व्यक्तिहरु भने वडा तथा पालिकामा पुग्न असहज हुने गरेको छ । सोही समस्यालाइै बुझेर जिल्लाको बडिगाड गाउँपालिका कार्यालयका जनप्रतिनिधि र कर्मचारीले भने वडा र पालिकामा आउन नसक्ने लाभग्राहीको घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण गरेका छन । 
जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा घरदैलोमा सेवा प्रदान
बर्खाको समय भौगोलिक हिसाबले पनि जेष्ठ नागरिक र अशक्तलाई वडा र पालिकामा पुग्न कठिनाई भएका कारण जनतालाई सहज रुपमा सेवा दिनका लागि घरदैलोमा नै पुगेर सेवा प्रदान गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन । अध्यक्ष थापाका अनुसार जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा घरदैलोमा सेवा प्रदान गरिएको छ । “हामी जनताको काम गर्नका लागि नै खटिएका हौं, बिहानदेखि साँझसम्म हामी वडाका विभिन्न बस्ती, टोल र घरमा समेत पुगिरहेका छौं, अध्यक्ष थापाले भनिन्–‘ विदा होस वा अन्य दिन यो अभियानालाई निरन्तरता दिएका छौं, वडा अध्यक्षको नेतृत्वमा वडा सचिव जानुभएको छ थप आवश्यकताका आधारमा पालिकाको पञ्जीकरण शाखाबाट पनि कर्मचारी पठाएका छौं ।’ 
सेवाग्राही खोजी खोजी नविकरण
केही लाभग्राही पालिका भन्दा बाहिर बुटबल, बागलुङ बजार पोखरा लगायतका स्थानमा बस्ने हुँदा वडा सचिव सम्बन्धित स्थानमा नै पुगेर सेवाग्राही खोजी खोजी नविकरण गरेको अध्यक्ष थापा बताउँछिन ।  उनले भदौ मसान्तसम्म पालिका भित्रका सवै लाभग्राहीको नविकरण गर्ने लक्ष्य रहेको बताईन । जनप्रतिनिधिले कर्मचारी साथमा लिएर गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दा नागरिकलाई धेरै राहत भएको थापाको भनाई छ । 
तिन हजार २७ जनाको नविकरण 
बडिगाड गाउँपालिकामा गत आ.व.मा ३ हजार ९८० जना लाभग्राही थिए हाल सम्म ३ हजार २७ जनाको नविकरण भै सकेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेलले जानकारी दिए । 
विगतका वर्षमा भन्दा यस वर्ष नविकरणको प्रावधान परिवर्तन भएको र अनिवार्य उपस्थित हुनुपर्ने हुँदा नविकरणमा केही कठिनाई भएको प्रमुख प्रशासकिय अधिकृत पौडेल बताउँछन । “सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको विवरण प्रत्येक वर्ष अध्यावधिक गर्नुपर्ने हुन्छ, विगतका वर्षमा एउटा फाराम भरेर हस्ताक्षर गरेर पठाए पनि पालिका वा वडा कार्यालयले नविकरण गर्न मिल्थ्यो पौडेलले भने,–‘यस वर्ष राष्ट्रिय परिचयपत्र अनिवार्य भनिएको छ त्यसका साथमा बायोम्याट्रिक प्रणाली अनिवार्य र लाईभ स्क्यान गर्नुपर्छ स्वयं लाभग्राहीको उपस्थित विना नविकरण संभव छैन, त्यसैले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्लाई केही कठिनाई भएको छ । यसको सजताका लागि गाउँपालिकाले घरदैलोमा नै सेवा प्रदान गरेको छ ।” उनले गाउँपालिकाको यस अभियानले लाभग्राहीलाई ठुलो राहत मिलेको बताए । 
उनले नेपाल सरकारले प्रदान गर्ने सेवामा कोही पनि नछुटुन भन्ने उद्देश्यका साथ घरदैलोमा सेवा प्रदान गरिएको बताए । 
सेवा प्रदानका निम्ती सम्बन्धित वडाका वडा सचिव र पालिकाका पञ्जीकरण शाखाका कर्मचारी बाहेक अन्य कर्मचारीलाई सहज नभएको हुँदा नविकरणका लागि समय पनि लाग्ने बताए । गाउँपालिकाले आगामी भदौ मसान्त भित्र सवै लाभग्राहीको नविकरण गर्ने लक्ष्य राखेको छ । 
जिल्लाको तमानखोला गाउँपालिका, गलकोट नगरपालिकाले पनि आफ्नो लाभग्राही खोज्दै बुटबल बागलुङ बजार लगायतका क्षेत्रमा पुगेर सेवा प्रदान गरेको छ । 
 

प्रतिक्रिया