परिक्षामा अनुत्तिर्ण भएको भन्दै शिक्षकले कुटे विद्यार्थी

  • मङ्सिर २८, २०८२

बागलुङ - विद्यालयमा नियमित संचालन गरिने परिक्षामा अनुतिर्ण भएको र कम अंक ल्याएको भन्दै बागलुङको एक विद्यालयका शिक्षकले विद्यार्थीलाई निर्घात कुटेपिटका छन । जिल्लाको बरेङ गाउँपालिकामा वडा नं. –२ मा रहेको पुरुषोद्धय माध्यमिक विद्यालयमा अध्यापन गराउने एक शिक्षकले परीक्षामा कम अङ्क ल्याउने विद्यार्थीलाई  निर्घाट कुटपिट गर्नुका साथै यातना दिने गरेको खुलासा भएको छ । विद्यालयमा अध्यापन गराउने  शिक्षक मिथलेश अधिकारीले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई कुटपिट गरेको घटना बाहिरिएको हो । गत मंसिर २३ र २४ गते  विद्यालयय समयमा परिक्षामा अनुर्तिण भएका विद्यार्थीलाई कुटपिट गरेका हुन । 
जति अंक पुग्दैन त्यती लौरा पिटाई
अधिकारीले अर्थशास्त्र विषयमा अनुर्तिण हुने विद्यार्थीलाई कुटपिट गरेको खुलासा भएको हो । ‘कक्षा १२ मा अध्ययन गर्ने १५ जना विद्यार्थी छौं ति मध्ये ४ जना मात्र परिक्षामा पास हुनुभएछ विद्यार्थी तिर्सना परियारले भनिन्–‘पासनभएका विद्यार्थीलाई जति नम्बर पुगेको छैन त्यत्तिनै लौरा सरले पिट्नुभयो,  मेरो पनि ४ नम्बर नपुदा ४ लौरा पिटाई खाए । परिवारको डरले कसैलाई भन्न सकेका थिएनौँ शनिबार नुहाउने क्रममा परिवारमा थाहा भयो, त्यस पछि बल्ल कारण खुलाएकी हुुँ । उनले आफु मात्र नभएर यस विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीले पनि बारम्बार कुटपिट बेहोर्नुपरेको बताईन ।  
शिक्षक अधिकारीको कुटाईबाट आफ्नो छोरीको खुट्टाको पिडुलामा निलो डाम बसेको तिर्सनाका बाबु दिपेन्द्र परियार बताउँछन । दिपेन्द्रका अनुसार घटना २४ गते भएको भएता पनि गत शनिबार मात्र छोरीको खुट्टामा निलो डाम देखेपछि घटनाको रहस्य बाहिरिएको हो । ‘दिपेन्द्रले आफ्नो छोरी सहित अन्य ११ जना विद्यार्थीले शिक्षकबाट कुटाई खाएको बताए । “यो घटना मेरी छोरी माथि मात्र हैन उसको अन्य साथीलाई पनि शिक्षक अधिकारीले कुटेका छन । यो बारम्बार हुने गरेको घटना रैछ, अहिले आएर बल्ल थाहा भयो, यसरी विद्यार्थीले कम अंक ल्याए अनुत्तिर्ण भए भनेर उनिहरुलाई नै निर्घात कुट्न शिक्षकलाई कसले अधिकार दियो । यो कानुन विपरित छ विद्यालयलाई हामीले ध्यानकर्षण गराएका छौं । शिक्षकलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।” दिपेन्द्रले आफुले सामाजिक सञ्जालमा यो कुरा उल्लेख गरेपश्चात विद्यालयमा नै पुगेर थप छलफल गरेको बताए । “आईतबार हामी विद्यालयमा नै पुग्यौँ विद्यार्थी कुट्ने शिक्षक र विद्यालयका प्रध्यानाध्यापक मनबहादुर श्रीस सहित छलफलमा बस्यौँ, दिपेन्द्रले भने,–‘शिक्षक अधिकारीले आफुले विद्यार्थीलाई कुटपिट गरेको स्विकार्नुभएको छ, उहाँले गल्तीको महशुस गर्नुभएको छ,  मेरो प्रबृत्ति यस्तै हो, म सुधार्छु भन्नुभएको छ, यस विषयमा समग्र विद्यालयको तर्फबाट पनि माफि माग्नुभएको छ । यसमा अन्य अभिभावहरुको पति प्रतिक्रिया के आउँछ सोही अनुसार अगाडी बढ्ने छौं । उनले आफुले फेसबुकमा राखेको पोष्ट र समाचारको बारम्बार हटाउन दबाब समेत दिएको बताए । 
विद्यालयका प्रध्यानाध्यापक मनबहादुर श्रीषले भने विद्यार्थी माथि कुटपिट भएको थाहा भएपश्चात शिक्षक र अभिभावक विच बास्तविकता बुझनका निम्ती छलफल भएको बताए । उनले विद्यार्थीहरूबाट जस्तो सुकै गल्ती भएपनि कुटपिट गर्नु र यातना दिनु राम्रो नरहेको बताए । उनले यस विषयमा छलफल मार्फत टुंगो लगाउने प्रयास आफुहरु रहेको बताए । आईतबार साँझा प्रअ श्रीषलाई यस विषयमा सोध्दै गर्दा विद्यार्थी कुट्नु र यातना दिनु राम्रो नभएको र यस विषयको समाधानमा आफुहरु रहेको बताए । “अहिले हामी यही विषयमा छलफलमा छौँ यस विषयमा विद्यालयको ध्यानकर्षण भएको छ, यो समान्य विषय हो, यसको समाधान गर्दै छौँ सहमती मार्फत एक पटकलाई टुंगाउने कुरा भएको छ प्रअ श्रीषले भने, अभिभावक, व्यवस्थापन समिति र सम्बन्धित शिक्षक विच छलफल मार्फत समस्याको समाधान गर्ने तयारीमा छौँ विद्यालयको तर्फबाट माफ माग्दै साझा धारणा बाहिर ल्याउँदै छौँ ।” विद्यालयले घटनाको बारेमा विज्ञप्ती समेत प्रकाशित गर्नुका साथै आिउँदो दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता समेत गरेको छ ।
यस विषयमा बरेङ गाउँपालिका कार्यालयको शिक्षा शाखामा भने कुनै जानकारी नआएको शिक्षा अधिकृत सुर्य प्रसाद शर्माले बताउँछन । उनले विद्यालयमा यस्तो घटना भएको सामाजिक संजाल मार्फत आफुले थाहा पाए पनि आधिकारीक रुपमा गाउँपालिकामा कुनै गुनासो वा उजुरु नआएको बताए । “सामाजिक सञ्जाल मार्फत हामीले पनि कुटपिटको घटना थाहा पायौँ, विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावक छलफलमा बसेर यसलाई टुंगाउँदै हुनुहुन्छ भन्ने सुनेको छु । सम्बन्धित शिक्षकले पनि माफ माग्नुभएको भन्नु कुरा आएको छ यसको बारेमा हामीले पनि बुझ्ने छौं । ” उनले यसको बारेमा बुझेर आवश्यक कारबाहीको प्रक्रियाको थालनी गर्ने बताए । शर्माले ‘अहिले विद्यार्थीलाई गाली गर्न त पाइँदैन कुट्ने कुरा त निकै ठूलो अपराध भएका भन्दै गाउँपालिकामा यसको उजुरी परेमा आवश्यक कारबाही गर्ने बताए ।  यस विद्यालयमा प्राबिधिक धार तर्फको कृषि विषय अध्यापन हुँदै आएको छ । 


 

प्रतिक्रिया