स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई कारबाही 

  • भदौ १६, २०८२

बागलुङ-  जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप (मोडिफाइ) परिवर्तन गरेर संचालन गर्ने मोटरसाईकललाई कारबाही गरेको छ । पछिल्लो समयमा केही व्यक्तिहरुको मोटरसाईकलको स्वरुप नै परिवर्तन गरी पड्काउँदै ठुलो आवाज निकाल्दै हिँडेको सर्वसाधारणबाट गुनासो गरेपछि ट्राफिक कार्यालयको सक्रियतामा ति मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरिएको हो । 
ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर कुँवरको नेतृत्वमा बागलुङ बजार क्षेत्रमा ठुलो आवाज निकाल्दै पड्काउने र स्वरुपनै परिवर्तन गरेका १४ मोटरसाईकल नियन्त्रणमा लिएको छ । 
नियन्त्रणमा रहेका मोटरसाइकलका चालकलाई जरिवाना तिराउनुका साथै परिवर्तन गरिएका साईलेन्सर, सिट लगायतका बस्तुहरु पुरानै राख्न लगाईएको छ । 
विषेशगरी रातीको समयमा बजार क्षेत्रमा मोटरसाईकलहरु पड्काउँदै हिँडने गरेको स्थानियले गुनासो गरेपछि ३ दिनको अवधीमा १४ वटा मोटरसाईकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर कुँवरले जानकारी दिए । 
‘म बागलुङ आएपछिको पहिलो अपरेशन हो, तिन दिनमा १४ वटा मोटरसाईकलहरु मोडिफाई गरेका कारबाहीमा परेका छन प्रमुख कुँवरले भने,–‘बढि मात्रामा साईलेन्सर परिवर्तन गरेको पाईयो त्यसका साथै हेन्डिल  र सिट पनि परिवर्तन भएका छन । अधिकाशं परिवर्तन भएका बुलेट बाइक रहेका छन ।’ पड्काउने उद्देश्यले राखिएका साईलेन्सर तत्काल परिवर्तन गरी सम्बन्धित कम्पनीको राखेपछि मात्र ट्राफिक कार्यालयले जरिवाना तिराएर मात्र छाड्ने बताए । 
कुँवरले बजार क्षेत्रमा नै केही स्वरुप परिवर्तन गरेका सवारी साधन अझै बाँकी रहेको र लुकाएर राखेको भन्ने खबर प्राप्त भएको हुँदा ति सवारी साधनलाई पनि भेट्दा साथ कारबाहीको दायरामा ल्याउने बताए । 
कार्यालयले पहिलो पटकलाई सामान्य जरिवानामा छाड्ने र पुन त्यस्ता क्रियाकलाम दोहोरिएमा यातायात व्यवस्था कार्यालयमा लगि थप कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको छ । 
पछिल्ला समयमा स्वरुप परिवर्तन गरेर बाईकहरु पड्काएर समाजलाई नै तर्साउने काम गरेको स्थानियको आरोप रहेको छ । कारबाहीका लागि नियन्त्रणमा लिएका मोटरसाइकल चालकहरुले पुरानै सामान फेरेर मात्र फिर्ता लगेका छन । 
ट्राफिक कार्यालयले आगामी दिनमा पुराना गाडी र अनुगमनका कामलाई तिब्रता बनाउने कार्यालय प्रमुख कुँवरले जानकारी दिए । 
 

प्रतिक्रिया