आश्रमको भवन निर्माण गर्न महायज्ञ गरिदै

  • कार्तिक १८, २०८२

बागलुङ, - देशलाई सहयोगापेक्षी मानवमुक्त बनाउने अभियान अन्तर्गत मानवसेवा आश्रमले देशभर अभियान सञ्चालन गरिरहेको छ । २०८२ साल भित्रै नेपाललाई सडक मानवमुक्त नेपाल घोषणा गर्ने अभियान सहित अगाडि बढेको मानव सेवा आश्रमले बागलुङमा आश्रमको भवन निर्माणका लागि यही कात्तिक २१ गतेदेखि २८ सम्म आयोजना गरेको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पु¥याएको छ । 
बागलुङ नगरपालिका—४ निरयघाटमा निर्माणाधीन रहेको मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ अयाोजना गरिएको महायज्ञको अधिकांस तयारी पूरा भएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । ‘हामीले यहाँको तयारी अन्तिम चरणमा पु¥याएका छौं, महायज्ञका लागि पण्डाल बनाउने कार्य पनि अन्तिम चरणमा पुगेको छ,’उनले भने,‘प्रचार प्रसारको काम पनि तिब्रताका साथ अगाडि बढेको छ ।’ 
महायज्ञका केवल कथा वाचनको मात्र काम नभई अन्य विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको उनले बताए । ‘हामीले यो महायज्ञ अवधीभर हरेक दिन बिहान बिहान योग विज्ञान शिविर सञ्चालन गछौं, त्यसका लागि योग प्रशिक्षक ललितशंकर योगी आउनुहुन्छ,’अधिकारीले भने,‘साढे ७ बजेपछि ११ बजेसम्म धौलागिरिका विद्यालयका विद्यार्थीहरुलाई मनको व्यवस्थापन सम्बन्धी उत्प्रेरणात्मक कार्यक्रम गर्छौं, दिउँसो भागवत कथा प्रवचन र भजन कृतन हुनेछ भने साँझ ६ बजेबाट ८ः३० सम्म भक्ती संगितको कार्यक्रम हुनेछ ।’ 
यहायज्ञमा कथा वाचक भागवत भास्कर कमलनयन गौतमले प्रवचन गर्ने आयोजकले जनाएको छ । निरयघाटमा विगत २०७७ सालदेखि निर्माणाधीन मानवसेवा आश्रमको भवन निर्माणका लागि अहिलेसम्म ५ करोड बढि खर्च भैसकेको छ । अहिलेसम्म विभिन्न स्थानीय तह र नागरिकस्तरको सहयोगबाट उक्त भवनको निर्माण काम अगाडि बढेको र यस पटक महायज्ञबाट उक्त भवन निर्माण पूरा गर्नुका साथै मानवसेवा आश्रम बागलुङको सञ्चालन व्यवस्थापनका लागि १० करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्य राखिएको छ ।
 ‘हाम्रो पहिलो लक्ष्य त यो भवन निर्माण पूरा गर्ने नै हो, २०८३ सालको वैशाख भित्रै भवनको काम पूरा गरेर आश्रमलाई यहाँ सार्ने योजना छ,’उनले भने,‘त्यस बाहेक आश्रमको दैनिक सञ्चालन व्यवस्थापन खर्चका लागि १० करोडको अक्षयकोष पु¥याउने लक्ष्य छ । त्यति भयो भने यहाँ व्यवस्थापनमा सहजता हुनेछ भन्ने हाम्रो विश्वास छ ।’ विभिन्न व्यक्तिहरुको दानमुठी सहयोग र स्थानीय तहको सहयोगबाट तीन तलाको भवन निर्माण अगाडि बढेको त्यो भवन निर्माण सम्पन्न भएपछि दुई जना आश्रितहरुलाई आश्रममा राख्न सकिने महायज्ञ मूल आयोजक समितिका संयोजक सहदेव राजभण्डारीले बताए । 
‘घरबार बिहीन नागरिकको गासबासको व्यवस्था गर्ने दायित्व सरकारको हो, तर सबै कुरा सरकारले पूरा गर्न सक्दैन,’उनले भने,‘त्यस्तो अवस्थामा नागरिकस्तरबाट सक्दो काम अगाडि बढाउनुपर्छ भनेर सडक मानवलाई आश्रममा राख्ने अभियान सुरुवात भयो । आश्रितहरुको संख्या बढ्दै जाँदा ठूलो भवनको आवश्यकता भएपछि यहाँ भवन निर्माण थालेका हौं । सबैको सहयोगबाट पूरा हुने विश्वास गरेका छौं ।’
 अहिलेसम्म भवन निर्माणको ६० प्रतिशत कार्य सम्पन्न भएको र बाँकी काम चैत मसान्तभित्र सकेर वैशाख भित्र आश्रम नयाँ भवनबाट सञ्चालन गर्ने उद्देश्य राखिएको उनले बताए । ‘कात्तिक महिनामा दान गर्दा पुण्य लाभ हुन्छ भन्ने विश्वा पनि गरिन्छ, हामीले यो कामलाई कात्तिक महिनामै अगाडि बढाएका छौं, आगामी बैशाख भित्र यहीबाट सेवा सञ्चालन गर्नेगरी हाम्रो योजना बनेको छ,’राजभण्डारीले भने । 
मानवसेवा आश्रम बागलुङमा साविक धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका घरबार बिहीन सडक मानवलाई उद्दार गरी राख्ने गरिएको छ । आफन्तले हेला गरेका र आफन्त नभएका कारण सडकमा आईपुगेका मानवको सेवामा लागि आश्रमको अवधारणा अगाडि बढेको हो । निरयघाटको पाँच रोपनी जग्गामा निर्माणाधीन भवन निर्माण पूरा भएपछि २०० जनालाई सहज रुपमा राख्न सकिनेछ । यो महायज्ञका लागि भागवत भाष्कर कमलनयन गौतमले कुनै रकम नलिई सहयोग गर्ने मूल आयोजक समितिका सचिव युक्तप्रसाद सुवेदीले बताए ।
 ‘हामी यो महायज्ञमा खर्चलाई कम भन्दा कम गर्ने योजनामा छौं, कथा वाचकहरुले धेरै पैसा लैजान्छन् भन्ने पनि सुनिन्छ,’उनले भने,‘कमलनयन गौतमज्यूले हामीसंगबाट एक रुपैयाँ पनि माग गर्नुभएको छैन । उहाँले आफ्नो गासबास पनि सहश्रधारामा रहेको आफ्नै आश्रमबाट गर्नुहुनेछ । सहयोगदाताहरुको सहयोग जुन उद्देश्यका लागि गरिएको त्यही खर्च गर्न हामी प्रतिवद्ध छौं ।’ महायज्ञको आयोजना गएिपछि सुरुवात नहुँदैबाट सहयोग आउन सुरु भैसकेको आयोजन समितिका कोषाध्यक्ष सरिता गौतमले बताईन् ।
 ‘अहिलेसम्म हामीलाई संस्थागत र व्यक्तिगत गरेर करिब एक करोड जति सहयोगको बचत प्राप्त भएको छ,’उनले भनिन्,‘हामीले एउटै व्यक्तिलाई उद्देलित गरेर ठूलो रकम राख्न लगाउने बाजागाजा र मानसम्मान गर्ने भन्दा पनि धेरै भन्दा धेरैबाट थोरै थोरै रकम सहयोग प्राप्त गरेर अभियान पूरा गर्ने योजनाका साथ लागेका छौं ।’ देश विदेशमा रहेको सहयोगीहरुबाट सहयोग गर्ने वचन आईरहेको उनले बताईन् ।
 ‘सामाजिक रुपमा योगदान गरिरहने व्यक्तिहरुलाई अनुरोध गर्ने गरेका छौं, स्वदेश विदेशमा रहनुभएका महानुभावहरुबाट सहयोगको आईरहेको छ । हामीले लक्ष्य पूरा गर्नेछौं भन्नेमा विश्वस्त छौं,’ गौतमले भनिन् । कतिपय भवनको कोठा निर्माणका लागि र कतिपय अक्षयकोषका लागि सहयोग गरिरहेको उनले बताईन् । २०७३ सालबाट बागलुङ नगरपालिका—३ लालीगुराँसचोकमा सुरु भएको मानवसेवा आश्रम बागलुङ शाखामा अहिले ६३ जना आश्रित रहेका छन् । 
बागलुङ शाखाले अहिलेसम्म २०० बढि सहयोगापेक्षी सडक आश्रित मानव उद्धार गरी संरक्षण र पारिवारिक पुनर्मिलन गरिसकेको तामाङले बताईन् । आश्रम व्यवस्थापनका लागि प्रत्येक जिल्लाबाट उठको सहयोग रकम मानवसेवा आश्रमको केन्द्रीय कार्यालयको खातामा जम्मा हुने र हरेक हप्ताको आईतबार जिल्लामा रहेको शाखाको माग अनुसार बजेट निकासा हुने गरेको छ । जिल्ला जिल्लाबाट आफ्नो तरिकाले गर्च गर्दा बेथिती बढ्नसक्ने देखिएकाले व्यवस्थाप खर्च केन्द्रीय कार्यालयबाटै निकासा गर्ने व्यवस्था गरिएको मानवसेवा आश्रमकी केन्द्रीय सहकोषाध्यक्ष सुमिरा लामाले बताईन् । 
‘हरेक ठाउँको आम्दानी हाम्रो सफ्टवेयरमा चढ्छ र खातामा जम्मा हुन्छ, हरेक आईतबार जिल्लाबाट माग भएको खर्च निकासा हुन्छ,’उनले भनिन्,‘शाखा शाखाको छुट्टा छुट्टै खाता चल्दा पारदर्शिताको समस्या हुनसक्छ भनेर हामीले यो गरेका हौं । अक्षय कोषको रकम भने जिल्ला जिल्लामै रहन्छ । बागलुङमा अक्षयकोषका लागि ३० लाख जति रकम जम्मा भएको छ । त्यो रकम यही खाता खोलेर राखिएको छ । अब बन्ने कोष पनि यही हुन्छ ।’ मानवेसवा आश्रमको अवधारणा १३ वर्ष अगाडि हेटौंडाबाट सुरु भएको थियो । मानवसेवा आश्रमले कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिने बताउँदै आएको छ । 
 

प्रतिक्रिया