बागलुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बागलुङको गलकोट नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय कार्यसमितिले असोज ३ र ४ गते वडा अधिवेशनको मिति तोके पनि गलकोटमा केही वडाको अधिवेशन सोमबारसम्म चलेर सम्पन्न भएको हो।
अधिवेशनबाट गलकोट नगरपालिकाका ११ वटै वडामा वडा सभापति सहित वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। निर्वाचित वडा सभापतिहरूमा वडा नं १ मा ईश्वर बुढाथोकी, वडा नं.२ मा घनश्याम कुँवर, वडा नं. ३ मा झहर बहादुर खत्री, वडा नं.४ मा खुमप्रसाद न्यौपाने, वडा नं. ५ मा डिलबहादुर बस्नेत, वडा नं.६ मा अमोज बि.क., वडा नं ७ मा टेकनाथ गौतम, वडा नं. ८ मा घनश्याम चालिसे, वडा नं. ९ मा लक्ष्मण गौतम, वडा नं.१० मा गंगा बहादुर घर्ती पुन र वडा नं.११ मा टिका श्रीस निर्वाचित भएको गलकोट नगरपालिकाका सभापती विरजंग भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार नगरपालिकाका अधिकांश वडामा शनिबार र आइतबार नै अधिवेशन सम्पन्न भए पनि वडा नं. ७ र ८ को अधिवेशन भने सोमबार सम्पन्न भएको हो।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले आगामी प्रदेश सभा अधिवेशन, क्षेत्रीय सभा अधिवेशन तथा जिल्ला अधिवेशनमा सहभागी हुनेछन्।
वडा तहको अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस गलकोटले अब पालिका तहको अधिवेशनको तयारी थालेको छ। असोज ७ गते पालिका तहको अधिवेशन, असोज १० गते प्रदेश सभा र क्षेत्रीय सभा अधिवेशन हुने कार्यतालिका रहेको छ।
त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म हुने कार्यतालिका रहेको छ। वडा तहको अधिवेशन सम्पन्न भएसँगै गलकोटमा महाधिवेशन प्रक्रियाले थप गति लिएको कांग्रेस नगर सभापति भण्डारीले बताएका छन्।