बागलुङ- नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीको विषयमा राष्ट्रिय सहमती कायम गर्नुपर्ने बताएका छन् । राजनीतिक उपयोगका लागि एमसीसीलाई मुद्दा बनाउँदा अहिले नेपाल भूराजनीतिक द्वन्द्वमा फसेको उनको भनाई छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन गर्न आईतबार बागलुङ आएका उपभापति गुरुङले राष्ट्रिय सहमतिमा एमसीसी कार्यन्वयन गर्ने या फिर्ता गर्ने निर्णय हुनुपर्ने बताए ।
‘विगतमा एमसीसी नेपाल सरकारले नै छनोट गरेको योजना हो,’ उनले भने,‘२०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदादेखि सबै सरकारले यो परियोजनालाई अगाडि बढाउँदै आएका हुन् । अहिले आएर यो विषय राजनीतिक रुपमा पेचिलो बनेको छ । राष्ट्रिय सहमति कायम हुनुपर्ने देखिएको छ ।’ एमसीसीलाई नेपालमा राजनीतिक मुद्दाको रुपमा आफ्नो फाईदाका लागि उपयोग गर्न खोज्दा अहिले भूराजनीतिक द्वन्द्वमा नेपाल फस्दै गएको उनको टिप्पणी थियो ।
‘दुई शक्ति राष्ट्रहरु अमेरिका र चीनका भूराजनीतिक चपेटामा एमसीसीका कारण नेपाल पर्ने अवस्थामा पुगेको छ,’ उनले भने,‘हामी चाहेर नचाहेर अब शक्ति राष्ट्रको टकराब बन्ने अवस्थामा देखिएकाले विवेकपूर्ण ढङ्गबाट निर्णय गर्नुपर्ने छ ।’ २०६८ सालपछिका सबै सरकारले परियोजना अगाडि बढाएको उनको तर्क छ । ‘सन् २०११ देखि प्रक्रिया सुरु भएर २०१७ मा काँग्रेस नेतृत्वको सरकार हुँदा ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ,’ गुरुङले भने,‘पछि २०१९ मा नेपाल सरकारको तर्फबाट युवराज खतिवडाले योजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । एमाले, माओवादी, काँग्रेस सबै सरकारमा हुँदा यो परियोजना अगाडि बढेको हो ।’
आफै प्रधानमन्त्री हुँदा अगाडि बढाएको योजनाको विषयमा भोटको राजनीतिका लागि प्रचण्डले यो कार्यान्वयन गर्न नहुने तर्क पेश गरेको उनले दाबी गरे । ‘हामी जानेर वा नजानेर यो विषयलाई बहसमा ल्याउन सकेनौं, अहिले काठमाडौंका महलमा बस्नेदेखि गाउँमा झुपडीमा बस्नेसम्मले एमसीसी राष्ट्रघाति हो भन्न थालेपछि हामीलाई भोटको माया लागेर भोटको राजनीति गर्न थालेका छौं । प्रचण्डजी नेतृत्वको सरकारले पनि यो योजना अगाडि बढाएकै थियो,’ उनले भने । एमसीसीको विषयमा निर्णय गर्नुपूर्व एमसीसी अस्वीकार गर्ने श्रीलङ्का र एमसीसी कार्यान्वयन गरेको मंगोलियाको अध्ययन गर्नुपर्ने उनले बताए ।
आगामी वैशाखमा हुने स्थानीय निर्वाचनतर्फ संकेत गर्दै नेता गुरुङले पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध जाने जो कोहीलाई अन द स्पट कारबाही गर्ने बताए । ‘हाम्रो विगत राम्रो छैन, त्यसैले हामीले केन्द्रदेखि जिल्लासम्म पार्टीको अनुशासन समिति बनाउँछौं, निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदवार विरुद्ध जाने जो कोहीलाई तत्काल अन द स्पट कारबाही हुन्छ,’ उनले भने । निर्वाचन हारेपछि सबैले असहयोग गरेको भन्दै कारबाहीको सिफारिस हुने गरेका कारण पनि निर्दोषलाई कारबाही नहुने र दोषी सजायको भागीदार हुनेगरी निर्वाचनकै समयमा तत्काल कारबाही गर्ने परिपाटी अगाडि बढाउने उनको भनाई थियो ।
उनले पार्टीको जिम्मेवारीका लागि भएको आन्तरिक प्रतिस्पर्धामा जो जता भए पनि सबै काँग्रेस एकढिक्का भएर विपक्षी दल विरुद्ध निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनमा टिकट दिंदा योग्य सक्षम र न्यायपूर्ण तवरले उम्मेदवार बनाउन आग्रह समेत गरे ।