बागलुङ - लागूपदार्थ दुव्र्यसन तथा ओसारपसार बिरुद्द सवै लाग्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन । लागूऔषध दुरुपयोग तथा अबैध ओसारपसार बाट किसोर किसोरी र युवा पुस्ता बचाउनुपर्ने उनिहरुले बताएका छन् ।
कानूनले प्रतिबन्ध लगाएको पदार्थ जथाभावी बिक्री भएको, खुलेआम बिक्री गर्दा कारवाही नभएको उनीहरुको भनाइ छ । त्यस्तै उपचारको रुपमा ५० रुपैयाँमा पाइने त्यही औषधी लागूपदार्थको रुपमा १ हजार ५ सय भन्दा बढीमा बिक्री भैरहेकोले अनुगमन बढाउनुपर्ने पनि उनीहरुको माग थियो ।
लागूपदार्थ दुव्र्यसन तथा ओसारपसार बिरुद्दको अन्तराष्ट्रिय दिवशको सप्ताहव्यापी कार्यक्रमको शुभारम्भमा उनीहरुले राज्यको निगरानी पनि बढी चाहिएको बताए ।
शुक्रवारदेखि साता व्यापी रुपमा दिवश मनाउन शुरु भएको छ । असार १२ गते सम्म मनाइने अभियानको शुक्रवार लागूऔषध दुव्र्यसन बारे सचेतना कार्यक्रम संचालन भएको हो ।
पहिलो दिनको कार्यक्रममा बिद्यालय उमेरका बालबालिका, अभिभावक र सरोकारवालाबीच अन्तरक्रिया तथा प्रस्तुतीकरण भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सुदिप भट्टराईले प्रस्तुतीकरणगर्दै लागू पदार्थ र लागू औषध बारे जानकारी गराएका थिए ।
उक्त अबसरमा उनले लागू औषध र लागू पदार्थको सेवनले मासिनमा आउने समस्या बारे प्रष्ट्याए । साथै उनले कानूनी रुपमा प्रतिवन्धित र अबैध कारोवार बारे पनि जानकारी गराए । बिशेषगरी उत्पातिको आधारमा लागूपदार्थहरु प्राकृतिक, अर्ध प्राकृतिक र कृतिम हुने उनले जानकारी गराए । त्यस्तै असरको हिसाबले लागूपदार्थ र लागू औषधको सेवनले मानिसमा उत्तेजना आउने, भ्रमात्मक भावना बिकास हुने र अन्त्यमा शिथिल भएर डिप्रेसनमा जाने र मृत्युको मुखमा पुग्ने सम्मको घटना भएको जनाए ।
त्यस्तै कानूनी रुपमा पनि लागू औषधहरु नियन्त्रित र अबैध भएकोले नियन्त्रित लागू औषधको उपयोग गर्नु परेमा डाक्टरको प्रेस्किप्सन लिएर मात्र उपयोग गर्नुपर्ने भट्टराईले बताए । अबैध औषधी भने खान, लिन र ओसारपसार गर्न नपाइने जानकारी गराए । त्यस्तो औषधीहरु उपयोग गरेको, ओसारपसार गरेको पाएमा कानूनी कारवाहीमा पर्ने व्यवस्था छ ।
लागू औषधको उपयोग र ओसारपसार गरेको व्यक्ति पक्राउ पर्दा अन्य मुद्दामा भन्दा धेरै समय अनुसन्धानको दायरामा पर्छन् । कानूनले पनि ९० दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्थाले लागू औषधको कारोवार गर्ने व्यक्ति फौजदारी मुद्दामा बढी कारवाही भोग्नुपर्ने अबस्था रहन्छ । यसरी कारवाही भोगेको व्यक्तिको चारित्रिक रेकर्ड प्रहरीले राख्ने भएकोले सार्वजनिक जीवन, बैदेशिक यात्रा र लाभको पद पाउने अबस्थामा समेत अयोग्य बन्न सक्ने खतरा बढी हुने भट्टराईले बताए ।
कार्यक्रममा नयाँ जीवन पुनस्थापना केन्द्रका संचालक संजय खड्काले लागू औषधको उपयोगले किसोर अबस्थाबाटै बढी असर गर्ने, कुलतमा लाग्ने खतरा बढ्ने र त्यसले सामाजिक जीवन समेत बर्बाद बन्ने सुझाए । लागू औषधको दुरुपयोग गर्ने, सेवन गर्ने र ओसारपसार गर्ने व्यक्तिको जीवनमा परिवार, समाज र आर्थिक अबस्था समेत कमजोर बन्दै जाने गरेको उनले अनुभव सुनाए । यो अबस्थाबाट मानिसहरु सुनौलो भविष्य बनाउन नसकी मृत्युको मुखमा जाने गरेको बताए । उनले आफ्नै साथीपनि कतिपयले मृत्यु रोजेको जानकारी गराए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले समाजलाई योगदान गर्न खोज्ने युवालाई समयमा सही मार्गदर्शन गर्न नसकेमा जीवन बर्बाद बन्ने बताए । दुव्र्यसन न्युनिकरणमा अभिभावक र सामाजिक अभियान्ताहरुको भूमीका प्रमुख हुने भन्दै त्यसमा कानूनी सल्लाह र परामर्शकालागि प्रशासनले साथ दिने बताए । यो दिवश मनाउन प्रमुख जिल्ला अधिकारीकै संयोजकत्वमा सुरक्षा निकाय, उद्योग बाणिज्य संघ, रेडक्रस, गैरसरकारी संस्था,प्याब्सन, एनप्याब्सन, पुनस्थापना केन्द्र, पत्रकार लगायतलाई सदस्य राखिएको छ ।
दिवशलाई अन्तरक्रिया, सबै स्थानीय तहमा समन्वय गरेर बिद्यालय र क्याम्पसमा लागू औषध बिरुद्दको सचेतना कार्यक्रम, खुला रुपमा बिक्री भएका लागू औषधको निगरानी, उपचारपछि निको भइ फर्केकाहरुको अनुभव आदानप्रदान गर्ने, लागू पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाइ सचेत बनाउने, दुव्र्यसन बिरुघ जिल्ला स्तरीय वत्तिृत्वकला प्रतियोगिता गर्ने लगायतको कार्यक्रम संचालन हुनेछन् । दिवशको अन्तिम दिन असार १२ गते प्रभातफेरी आयोजना हुनेछ ।