बागलुङ, - राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्ने बताएका छन । पौडेलले बागलुङको पैयुँपाटामा रहेको त्रिभुवन माध्यमिक विद्यालयको हीरक जयन्तीको मुख्य समारोहमा सम्वोधन गद परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि निर्वाचन अपरिहार्य भएको बताए । उनले शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिए ।
‘हामीले ठूलो संघर्ष र बलिदानबाट प्राप्त गरेको संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीले शासनमा बसेकाहरूबाट जनताप्रतिको यहि दायित्वसहित दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने दायित्वको अपेक्षा गरेको छ यो हामीले बिर्सन हुन्न,’उनले भने । ‘जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसंगतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता हो । परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र होइन सबै नेपालीको आवाज र चाहना पनि यही हो,’ उनले भने, ‘यसका लागि जनचाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय भनेकै निर्वाचन हो । त्यसैले, आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सफल बनाउन हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने आजको आवश्यकता हो । सुन्दर र सुरम्य धौलागिरिको यस पवित्र भूमिबाट म पुनःएकपटक आम नेपाली जनतालाई यसका लागि आव्हान गर्दछु ।’
राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको यस महायज्ञलाई सफल पार्न आग्रह पनि गरे । ‘शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ’, उनले भने, ‘शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नविनतम आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो ।’
पौडेलले आजको बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढंगले युगानुकुल शैक्षिक क्रियाकलापका नविनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले जहाँनीया राणा शासन विरुद्ध परिवर्तनको दियो बालेर चेतना जागृत गर्ने तिव्र आकांक्षा र हुटहुटि भएका अग्रजहरूको अग्रसरताबाट स्थापना भएको जिल्लाकै दोस्रो पुरानो उक्त विद्यालयले नेपालको शैक्षिक इतिहासमा आज आफ्नो गौरवमय इतिहास निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै पुरातनवादी सोच र अन्धकारबाट उज्यालोतर्फ नेपाली समाजलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
राष्ट्रपती पौडेलले धौलागिरी क्षेत्र आफ्नो राजनितिक आन्दोलनमा एउटा इतिहास बोकेको हुँदा यस क्षेत्रप्रति सधै मायाँ र सदभाव रहेको बताए । उनले बागलुङ आफ्नो राजिनतिक जीवनमा निकै नजिक र गृह जिल्ला पछिको दोस्रो जिल्ला भएको बताए । पौडेल २०४६ सालको आन्दोलनका क्रममा यसै विद्यालय हुँदै पर्वत गएका थिए । कार्यक्रममा विद्यालयले प्रकाशन गरेको हीरक जयन्ती स्मारिकालाई राष्ट्रपती पौडेलले विमोचन गरेका थिए । पौडेलले विद्यालयमा स्थापना गरिएको हीरक स्तम्भको समेत अनावरण गरेका छन ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जिल्लाकै पुरानो विद्यालयले शैक्षिक क्षेत्रमा ठुलो फड्को मारेको बताए ।
कार्यक्रममा यसै विद्यालयमा अध्ययन गरेर नेपाल सरकारको विशिष्ट सेवामा रहेका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
बुधबार देखी सुर भएको कार्यक्रममा माघ दुई गते सम्म संचालन हुने छ । बुधबार वडा भित्रका महिला समुहविच रत्यौली प्रतियोगिता, लठ्ठो तान्ते लगायतका विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । यसै अवसरमा बृहत स्वास्थ्य शिविर संचालन गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीको अध्यक्षता विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पौडेलको स्वागत, बा.न.पा १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल र विद्यालयका शिक्षक विष्णु केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार थानेश्वर गौतम, रिमा थापा लगायतका कलाकारले प्रस्तुती राखेका थिए ।