काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता तथा कर्मचारीहरू अब ललितपुरस्थित पर्यटकीय गन्तव्य प्रेम दरवार होटलमा आकर्षक छुट सुविधा पाउने भएका छन्। कम्पनी र प्रेम दरवार प्रालिबीच हालै भएको विशेष सहमति अनुसार बीमितहरूलाई होटलको जिपलाइन सेवामा ५० प्रतिशत र अन्य सम्पूर्ण सेवाहरूमा ३५ प्रतिशतसम्मको छुट उपलब्ध गराइने भएको हो।
यस सम्झौताले ग्राहक सेवा, प्रोत्साहन र सुविधालाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेको कम्पनीले जनाएको छ। छुटको सुविधा प्राप्त गर्न बीमितहरूले आईएमई लाइफ इन्स्योरेन्सको मोबाइल एपमा उपलब्ध ‘प्रिभिलेज कार्ड’ देखाउनुपर्नेछ भने, अभिकर्ता तथा कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गर्नुपर्नेछ।
उक्त छुट प्रेम दरवार होटलको टिकट काउन्टरमै प्राप्त गर्न सकिनेछ। जिपलाइन टिकट खरिदका बेला सो कार्ड वा परिचयपत्र देखाएर छुट सुविधा सहज रूपमा उपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
आईएमई लाइफले आफ्ना बीमितहरूको सेवामा विविधता ल्याउन र बीमा सेवालाई बढी आकर्षक तथा लाभदायक बनाउनका लागि यस्तो साझेदारी गरेको जनाएको छ। प्रिभिलेज कार्ड प्रणालीमार्फत बीमितहरूको जीवनशैलीमा प्रत्यक्ष लाभ पुर्याउने योजनासहित यो सहकार्य अघि बढाइएको हो।
प्रेम दरवार होटल ललितपुरको पर्यटकीय क्षेत्र खोकनामा रहेको एक प्रतिष्ठित होटल तथा मनोरञ्जन केन्द्र हो, जहाँ जिपलाइन, साहसिक खेलकुद, पारिवारिक भोज र विश्राम सेवाहरू उपलब्ध छन्।