काठमाडौ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ । सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम र जेठ १५ मा ल्याउने बजेटमा आमनागरिकका सुझाव को प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्लेटफर्मको सुरुआत गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
यस पोर्टलका माध्यमबाट देशविदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीति–निर्माताले बजेट निर्माण तथा विकासका प्राथमिकताबारे सिधै रायसुझाव दिनसक्ने प्रधानमन्त्री बालेनकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन् ।
उनले सरकारको नीतिनिर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आमजनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजनाअनुरूप यो कदम चालिएको बताइन् ।
यो पोर्टलले नागरिक र राज्यबीचको दूरी मेटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने प्रधानमन्त्रीको सचिवालयको दाबी छ ।
जनताले पोर्टलमा दिएका आफ्ना सुझावको पछिल्लो अवस्था र सरकारले चालेको कदमका बारेमा जानकारी लिन सकिने गरी ‘सुझाव ट्रयाक’ गर्ने विशेष सुविधा यस प्रणालीमा समावेश गरिएको विज्ञ सल्लाहकार दाहालले बताइन् ।
नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरेर आफ्ना सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्ने उनले बताइन् ।