पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने

  • असार ७, २०८२

बागलुङ, -  नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ । महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो । यही असार २५ गते २५ औँ स्थापना दिवस अर्थात रजत जयन्तीका अवसरमा दुईदिवसीय कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असार २४ गते बिहान ध्यान शिविर र दिउँसो पत्रकार महासङ्घका अन्तरशाखा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ ।

खेलमा पत्रकार महासङ्घ, बागलुङसहित कास्की, पर्वत र म्याग्दीको टिमको सहभागिता रहने जनाइएको छ । बैठकले ध्यान शिविरको संयोजनका लागि उपाध्यक्ष सिर्जना पन्त र फुटसल खेलका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, सङ्गम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिएको छ । असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिने सचिव रिजालले बताउनुभयो ।

मूल समारोहमा महासङ्घमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम हुने उहाँको भनाइ छ । रजत जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई आमन्त्रण गर्ने निर्णय भएको शाखाले जनाएको छ । रजत वर्षका अवसरमा महासङ्घको कार्यालय परिसरमा रजत वर्ष स्तम्भ स्थापना, रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलनलगयतका कार्यक्रम आयोजना गरिने भएको छ । वर्ष २०८२ लाई तालिम वर्षका रुपमा समेत घोषणा गरी पत्रकार क्षमता विकास कार्यक्रममा केन्द्रित हुन लागिएको शाखाका उपाध्यक्ष सिर्जना पन्तले बताउनुभयो । आधारभूत, विषयगतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई वार्षिक कार्ययोजनामा समेटेर सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ ।

पत्रकारको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिका कामलाई महासङ्घले प्राथमिकतामा राख्ने उपाध्यक्ष पन्तले बताउनुभयो । बैठकमा तालिम उपसमितिका संयोजक सिर्जना पन्त, आर्थिक उपसमितिका संयोजक सुवास गौतम, अनुशासन समितिका संयोजक सुवास आचार्य, सूचना/प्रविधि उपसमितिका संयोजक डम्मर बुढा मगर र अन्तरसंस्था समन्वय उपसमितिका संयोजक नवराज परियारले सम्बन्धित उपसमितिका कार्ययोजनामा पेस गर्नुभएको थियो ।

बैठकले आगामी साउन पहिलो साता जिल्ला सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको प्रचलन आदिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । शाखाले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’को लक्ष्यलाई छिट्टै पूरा गरी यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया