गण्डकी सरकारबाट बाहिरिनेमा रोकिए एमालेका मन्त्री

  • भदौ ९, २०८३

पोखरा । गण्डकी सरकारबाट बाहिरिने  नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको प्रतिक्रिया दिए । 

तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख सचेतक देवका पहारीले जानकारी दिएकी थिइन् ।  मंगलबार दिउँसो एमालेका चारैजना मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी भए । सबैले मन्त्रिपरिषद् बैठकबाटै राजीनामा दिने आँकलन गरेका थिए ।  तर, मन्त्रीहरु बैठक सकेर राजीनामा नदिइ निस्किएका छन् । बैठकबाट बाहिरिने क्रममा मन्त्री नेपालीले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भने, ‘बाहिर आएको कुरा सत्य होइन । अहिलेसम्म हामी सरकारमै सामेल छौं ।’

एमालेका एक सांसदले संसदीय बोर्डको बैठकमा राजीनामा दिने गरी हस्ताक्षर समेत भैसकेको बताए । ‘राजीनामा दिने निर्णय भएकै हो । राजीनामा पत्रमा चारैजनाको हस्ताक्षर पनि गरिएको छ,’ बैठकमा सहभागी ती सांसदले भने, ‘किन दिनुभएन थाहा छैन ।’ 
बुधबार एमाले संसदीय दलको बैठक राखिएको छ । उक्त बैठकमा राजीनामाबारे थप छलफल हुने सांसदहरुले बताएका छन् ।

प्रतिक्रिया