बडिगाडकी गण्डकी एक सय प्रभाशाली महिलाको सूचीमा

  • फाल्गुण २६, २०८१

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी नेपालका एक सय प्रभावशाली महिलाको सूचीमा परेकी छन् । ई म्यागेजिन वर्ल्ड अफ वोमन (डब्ल्यु ओ डब्ल्यु) ले विभिन्न क्षेत्रमा नेतृत्व गरि समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने महिलाहरूको सूची सार्वजनिक गरेकोमा अधिकारी पनि परेकी हुन् । डब्ल्यूओडब्ल्यूले सामूहिक शक्ति नामक शीर्षकमा प्रभावशाली महिलाको नाम सार्वजनिक गरेको हो ।

सरकार, राजनीति, कलाकारिता, खेलकुद, युवा नेतृत्वलगायत विधामा प्रभावशाली महिलाको छनौट गरिएको हो । अधिकारी जनप्रतिनिधि तर्फ प्रभावशाली महिलाको सूचीमा परेकी हुन् । अधिकारीले विशेषगरी ग्रामीण क्षेत्रमा रहेका महिलाहरुको उत्थान, महिला स्वास्थ्य र ग्रामीण पूर्वाधारको क्षेत्रमा गरेका कार्यहरु उल्लेख गर्दै प्रभावशाली महिलाको सुचिमा राखिएको छ । निःशुल्क स्वास्थ्य बीमा, गर्भवती महिलाहरूको लागि एक्स–रे सेवा, पोषण सहयोग सहित कल्याणकारी कार्यक्रमहरू सुरु गरेको र साना उद्योगहरूलाई प्रवद्र्धन गरेको भन्दै प्रभावशाली महिलाको सुचिमा समावेश गरिएको हो । साथै ग्रामीण पूर्वाधार सुधारको पहलहरुको नेतृत्व गर्दै सौर्य ऊर्जा परियोजनाहरू र स्थानीय महिलाहरूको लागि डिजिटल साक्षरता तालिम, स्मार्ट खेती अभ्यासहरू मार्फत कृषि दिगोपन बढाउन र कमजोर समुदायहरूको लागि जलवायु अनुकूलन कोष सुरक्षित गर्नमा पनि केन्द्रित रहेको जनाएको छ । केही समय अगाडि सि लिड्स आइकन अवार्डबाट पनि सम्मानित अध्यक्ष अधिकारी बागलुङका १० पालिकामा एक्लो महिला स्थानीय तह प्रमुख हुन् ।

प्रतिक्रिया